अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई जति नुहाए पनि सफा गर्न सकिएन : अध्यक्ष ओली

प्रचण्डलाई जति नुहाए पनि सफा गर्न सकिएन : अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई जति पखाले पनि जस्ताको तस्तै भएको बताउनुभएको छ ।

झापा क्षेत्र-३ मा मा आज एमाले र राप्रपाले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डलाई ल्याएर सफा गर्दा धेरै साबुन र सेम्पो सकिए पनि सफा गर्न नसकिएको बताउनुभयो । ‘नुहाएर के गर्नु, नुहाएर पुछिसक्यो, कम्फरटेवल सरकार मै बनाउँछु हजुर भनेर जाने, कम्फरटेवल सरकारमा नै जानु पर्ने’, ओलीले भन्नुभयो ।

दशकौँ साथमा लिएर हिँडेका माधव नेपाल, झलनाथ खनाल र मिलाएर लिएर हिँडेको प्रचण्डले देशको पक्षमा कहिल्यै नबोलेको ओलीले बताउनुभयो । उहाँहरूले जनताको लागि कम्फरटेबल सरकार बनाउने कुरा कहिल्यै नगरेको ओलीले बताउनुभयो ।

संविधानमा नभएको परमादेशबाट सरकार तोक्ने र त्यसमाथि पनि यति घण्टा भित्र फलानोलाई प्रधानमन्त्री बनाऊ भन्ने आदेश गरिएको भन्दै ओलीले आलोचना गर्नुभयो । दुनियाँमा कतै पनि अदालतले प्रधानमन्त्री बनाऊ भनेर आदेश नदिने उहाँले प्रष्ट पार्नुभयो ।

एमालेले गरेको काम नेपाली जनताले राम्रोसँग देखेको ओलीले बताउनुभयो । आफ्नो पालामा सडक, सिँचाइ, पूर्वाधार, आइटी लगायतको क्षेत्रमा धेरै काम सुरु भएका ओलीले स्मरण गराउनुभयो । एमाले केवल सरकारमा बस्नको लागि मात्र सरकारमा नजाने उहाँले प्रष्ट पार्नुभयो । एमाले देशको रक्षा र विकास गर्न सरकामा जाने उहाँको भनाइ छ ।

यस पटक राप्रपा एमालेसँग दह्रोसँग लागेकोले राप्रपा राष्ट्रिय पार्टी हुने उहाँले बताउनुभयो । जसपा राष्ट्रिय पार्टी भएको र कायम रहने उहाँले दाबी गर्नुभयो । ‘यस पटकको हकमा माओवादी पनि राष्ट्रिय पार्टी रहन्छ, माधव नेपालले खोलेको छ एउटा पार्टी, त्यसको कन्तबिजोक हुन्छ, राष्ट्रिय पार्टी हुँदैन’, ओलीले भन्नुभयो ।

आउने निर्वाचनमा एमालेको बहुमत आउने उहाँले बताउनुभयो । एमालेको एक्लै बहुमत आए पनि राप्रपा र जसपालाई साथमा लिएर सरकार बनाउने उहाँले बताउनुभयो । ‘नेकपा एमालेको बहुमत आउँछ, एमालेको बहुमत त आयो आयो’, ओलीले भन्नुभयो ।