अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी चुनावमा एमालेले बहुमत ल्याउँछ : अध्यक्ष ओली

आगामी चुनावमा एमालेले बहुमत ल्याउँछ : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा चुनावमा एकल बहुमत ल्याउने दावी गर्नुभएको छ । उहाँले देशभरबाट १५० सिट जित्ने लक्ष्य पार्टीले राखेको बताउनुभयो ।

गृहजिल्ला झापाको दमकमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै ओलीले यस्तो दावी गर्नुभएको हो। अध्यक्ष ओलीले प्रत्यक्षमा १०५ सिट र समानुपातिकमा ५० सिट एमालेले जित्ने आँकलन प्रस्तुत गर्नुभयो ।  

अध्यक्ष ओलीले भन्नुभयो, ‘अघिल्लो चुनावमा प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट नेकपाले जितेको थियो । तर, दुई तिहाइ बहुमत ल्याउन १३८ सिट चाहिन्थ्यो । तर, अहिले हामी एक्लै १५० सिट जित्ने मिसनमा अघि बढेका छौं ।’

झापामा एमालेले राप्रपासँग तालमेल गरेको छ । झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई एमालेले समर्थन गर्ने र अन्य क्षेत्रमा राप्रपाले एमालेलाई सहयोग गर्ने सहमति दुई दलले गरेका छन् । सो सहमति चुनावमा कार्यान्वयन हुने अध्यक्ष ओलीले बताउनु भयो ।  

अध्यक्ष ओली भन्नुहुन्छ, ‘राप्रपाले एमालेसँग मिलेर काम गर्न खोजेको छ। हामीले त्यसलाई स्वागत गरेका छौं । झापा क्षेत्र ३ नम्बरमा हामी राप्रपालाई भोट दिन्छौं, जिताउँछौं । हामीले समर्थन गरेपछि जित्नुपर्छ, नत्र हाम्रो समर्थन के काम लाग्यो ?’

ओलीले झापामा १ क्षेत्र र दुई प्रदेशमा राप्रपालाई भोट दिन र बाँकी सबैमा सूर्यचिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कतै गाईंगुईं सुनेको छु, राप्रपाले हामीलाई भोट दिँदैन भन्ने । तर, राप्रपाले भोट दिन्छु भनेर सहमति गरेपछि दिन्छ । यसमा शंका गर्नु हुँदैन । विश्वासका साथ लागौं । दिन्छु भनेपछि दिन्छ । अविश्वास गर्नु हुँदैन । हामी सहयोग गर्छु भनेका ठाउँमा गर्छौं, सहयोग लिने भनेका ठाउँमा लिन्छौं ।’