अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश जोगाउन गठबन्धनलाई पराजित गर्नैपर्छ : अध्यक्ष ओली

देश जोगाउन गठबन्धनलाई पराजित गर्नैपर्छ : अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार विदेशीको दलाल भएको बताउनु भएको छ ।

गृह जिल्ला झापाको दमकमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार अस्वभाविक र अलोकतान्त्रिक ढंगले बनेको सरकार रहेको बताउनुभयो ।

अहिलेको सरकार बेथितिको सन्तान भएको पनि उहाँले बताउनुभयो । संसारमा कही नभएको अदालतबाट प्रधानमन्त्री तोक्ने काम भएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘लोकतन्त्रमा शक्ति पृथकीकरणको सिद्धान्त हुन्छ, हाम्रो सर्वोच्च अदालतले संविधान र शक्तिपृथकीकरणको सिद्धान्त मानेन, न्यायको गला रेट्यो, न्याय कुल्चियो, न्यायाधिशहरु नै भन्छन् न्यायालयमा सेटिङ भयो, न्यायाधिशहरु भ्रष्ट भए।’

आगामी मंसिर ४ को चुनावबाट वर्तमान गठबन्धन र परमादेशी सरकारलाई हराएर जनादेशको सरकार बनाउनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो गठबन्धनलाई पराजित गरेर हामीले देश जोगाउनुपर्नेछ, देशको अस्तित्व, स्वाभिमान, देशको हितलाई जोगाएर विकासको बाटोमा हामी अगाडि बढ्नुपर्नेछ, यसका लागि मंसिर ४ गते एउटा अवसर आएको छ, गठबन्धन जस्तो विदेशीको दलाल, अरुका लागि अरुको सुविधाका लागि काम गर्ने, कम्फरटेबल सरकार बनाउँछु भन्ने सुन्नुभएकै होला यस्तो गठबन्धनलाई पराजित गर्नुपर्नेछ, देशको हितको पक्षमा, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको पक्षमा काम गर्ने सरकार बनाउनुपर्छ, त्यसका निम्ति यो चुनावलाई सदुपयोग गर्नुपर्छ ।’

राप्रपा, जसपा र परिवार दललाई साथ लिएर एमालेको नेतृत्वमा सरकार बनाउने घोषणा पनि अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकल बहुमतको सरकार चाहिन्छ, त्यसले राप्रपा, परिवार दल र जसपालाई साथ लिएर चल्नेछ, देशभक्त शक्तिहरुलाई लिएर चल्नेछ र जनताका समस्यालाई समाधान गर्नेछ,मुआब्जाका समस्या समाधान गर्नुपर्ने, धनी पूर्जा लिन नपाएकालाई व्यवस्थित ढंगले उठाउनुपर्छ, हामीले केही नभएकालाई पनि दिने भनेका छौं, फुसको छाना नभएकालाई टिनको छाना मैले बनाएको नीति हो ।’

काठमाडौं उपत्यकालाई बेलगाम छोड्दा भद्रगोल भएको भन्दै उहाँले अब पूर्ण नियन्त्रण गर्नुपर्ने बताउनुभयो । अरुले ३० वर्षमा ल्याउन नसकेको मेलम्चीको पानी एमाले नेतृत्वको सरकारले ३ वर्षमा ल्याएको बताउनुभयो ।

अध्यक्ष ओलीले सबैमा एकता र राष्ट्रियताको भाव जगाउने काम पनि आफूले गरेको बताउनुभयो । जातिजाति लडाउने अवस्थालाई आफूले सरकारले नेतृत्व गर्दा अन्त्य गरेको उहाँले बताउनुभयो ।

विगतमा र अहिले पनि पार्टीकै कारण आफू चुनावी मैदानमा उत्रिएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘दर्शन सिद्धान्ततिरको काम गर्छु, स्कुल विभाग चलाउछु, प्रशिक्षण दिन्छु भन्ने सोचेको थिएँ, सांसद्, मन्त्रीको काम नदिए हुन्थ्यो भने तर भएन साथीहरुले मलाई चुनाव लड्न जानैपर्छ भन्नुभयो ।’