अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

होमबहादुर थापा झापाको विकास गर्ने नेता हुन् : केपी शर्मा ओली

होमबहादुर थापा झापाको विकास गर्ने नेता हुन् : केपी शर्मा ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ को (ख) का प्रदेशसभा उम्मेदवार होमबहादुर थापाबारे अनावश्यक टिप्पणी नगर्न आग्रह गर्नुभएको छ।

झापाको दमकमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ को चुनावका लागि सक्षम उम्मेदवार उठाइएको भन्दै होमबहादुर लगायत पार्टीका उम्मेदवारबारे टिकाटिप्पणी नगर्न आग्रह गर्नुभयो ।

होमबहादुर थापा छलछाम गर्ने, बेइमानी गर्ने,  कपट गर्ने त्यस्तो मान्छे नभएको बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘होमबहादुर थापाजीको सवालमा प्रश्न नगर्दा हुन्थ्यो, उहाँलाई मैले २०४८ सालदेखि चिनेको लगभग ३२ वर्ष भयो । थापा छलछाम गर्ने, बेइमानी गर्ने,  कपट गर्ने त्यस्तो मान्छे होइन ।’

झापाको विकाससँग होमबहादुर थापाको नाम र मेहनत जोडिएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस ठाउँको विकासका लागि कस्तो योजना पठाउने, कस्तो कार्यक्रम गर्ने, कहाँ बाटो बनाउने कहाँ के गर्ने, बाटोको ठाउँ त मलाई त थाहा हुँदैन, सबभन्दा बढी यो ठाउँ भनेर मलाई झकझकाउने, यो यो ठाउँमा काम गर्नुपर्छ भन्ने, कहाँ बाटो कहाँ पैनी कहाँ पुल बनाउने भन्ने मलाई योजना दिने र गर्नुपर्छ भनेर मलाई सिफारिस गर्ने मान्छे होमबहादुर थापा हो, त्यसकारण यहाँको विकाससँग होमबहादुर थापाको नाम जोडिएको छ, मेहनत जोडिएको छ ।’

विकासका लागि मरिमेटेर लाग्ने होमबहादुर थापा जस्तो प्रतिनिधि झापा-५ (ख) ले पाउनु सुखद कुरा भएको बताउँदै अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो ‘विकासका लागि मरिमेटेर लाग्ने प्रतिनिधि पाउनु यस क्षेत्रका लागि सुखद कुरा हो, मैले यत्तिकै होमबहादुर थापालाई छानेको होइन, भोलि यस ठाउँको विकासलाई अगाडि बढाउन प्रदेश सरकारबाट पनि गर्नका लागि (क) क्षेत्रबाट हिक्कमत कार्की र यस क्षेत्रबाट होमबहादुर अत्यन्तै सक्षम मान्छे उठाएको छु ।’

होमबहादुरले आफ्नो सहयोगीको रुपमा काम गरेर अनुभव हासिल गर्नुभएको भन्दै उहाँले कार्कीले प्रदेशसभा सदस्य तथा मन्त्री भएर सिक्नुभएको बताउनुभयो। अध्यक्ष ओलीले एमालेका उम्मेदवारलाई अत्यधिक मतले जिताउन नेता-कार्यकर्तालाई आग्रह गर्नुभयो ।

चुनावका बेला कुनै पनि असन्तुष्टि नदेखाउन पनि आम नेता-कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । अध्यक्ष ओलीले तालमेल भएका ठाउँमा राप्रपाका उम्मेदवारलाई पनि भोट दिन आग्रह गर्नुभयो ।