अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरमा कांग्रेससहित विभिन्न पार्टीका सयौं युवा एमालेमा प्रवेश

भक्तपुरमा कांग्रेससहित विभिन्न पार्टीका सयौं युवा एमालेमा प्रवेश


भक्तपुर – भक्तपुरमा नेपाली कांग्रेस लगायत विभिन्न पार्टीका सयौं युवा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले शनिबार सूर्यविनायकमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा सूर्यविनायक र सिरुटारमा गरी करीब तीन सय युवा एमाले प्रवेश गरेका हुन् । केही समय अघि कांग्रेस परित्याग गरी एमाले प्रवेश गर्नुभएका रामशरण देउजाको संयोजनमा कांग्रेस, माओवादी, नेपाल मजदुर किसान पार्टी, एकीकृत समाजवादी, कांग्रेस विपी, राप्रपालगायत दलका १४७ जना युवा एमाले प्रवेश गरेका हुन् ।

कार्यक्रममा कांग्रेस क्रियाशिल सदस्य प्रकाश ढकाल, नेपाल लोकतान्त्रिक फोरमका जिल्ला सचिव सुनिल तज, क्रिसन त्वाती स्वतन्त्र, वीपी कांग्रेसका जिल्ला सभापति डा। रुपेश गाईजु, माओवादी केन्द्रका पूर्व जिल्ला सदस्य दीपक महत, बैकुण्ठ महत, प्रदीप महत, नेत्रबहादुर कार्की लगायत युवा एमाले प्रवेश गर्नुभयो ।

सूर्यविनायक नगरपालिका-१ सिरुटामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको युवा भेला तथा पार्टी प्रवेश कार्यक्रममा करिब १५५ जना युवाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई एमाले पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नम्बर-२ का प्रतिनिधि सभन उम्मेदवार महेश बस्नेत, केन्द्रीय सदस्य तथा भक्तपुर इञ्चार्ज सोमप्रसाद मिश्र, निर्मल भट्टराई, एमाले वाग्मती प्रदेश कमिटी सदस्य राजेन्द्र राजथला लगायतले पार्टीमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नवप्रवेशी ढकालले कांग्रेसभित्र समस्या र कुरितिको चाङ रहेको बताउनुभयो । लोकतान्त्रिक व्यवस्था र विकासको नेतृत्वमा एमालेको विकल्प नभएकाले एमाले प्रवेश गरेको उहाँले बताउनुभयो ।

आगामी दिनमा एमालेका उम्मेदवारलाई विजयी गराउन जस्तोसुकै भूमिका निर्वाह गर्न तयार रहेको भन्दै ढकालले आगामी दिनमा पार्टी प्रवेशलाई दोब्बरका दरले बढाउँदै लैजाने घोषणा समेत गर्नुभयो ।

भक्तपुरलाई एमालेको लालकिल्ला बनाएरै छोड्ने उद्घोष गर्दै उहाँले गठबन्धनका उम्मेदवार दुर्लभ थापाको अनौतिक कार्य तथा गतिविधि सैह्य नभएकाले एमाले प्रवेश गरी एमालेलाई भोट र गठबन्धनलाई चोट दिएको पनि बताउनुभयो ।