दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर ४ पछि एमालेको सरकार गठन हुँदा सुकुम्वासी, भूमिहीनहरूको समस्या दुई वर्षभित्र टुङ्याउने योजना रहेको बताउनुभएको छ ।
आज दाङमा आयोजित चुनावी भेलामा महासचिव पोखरेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन, सुकुम्बासी समस्या स्थायी रुपमा समाधान गर्न कानुन निर्माण र शक्तिशाली आयोग गठन गरी काम शुरु गरिरहेको अवस्थामा सरकारबाट हट्नु परेकाले टुङ्गोमा पुर्याउन नपाएको स्पष्ट गर्नुभयो ।
महासचिव पोखरेले एमालेलाई बहुमतको सरकार गठन गर्ने गरी विजयी बनाएको खण्डमा अर्को निर्वाचनमा जनतासामु आउँदा भूमिहीन, सुकुम्वासी देख्नु पर्ने छैन भन्नुभयो । उहाँले सुकुम्बासी समस्या समाधान गर्ने काम पहिलो पटक २०५१ सालमा नेकपा एमालेको नौ महिने अल्पमतको सरकारले गरेको स्मरण गर्नुभयो।
गठबन्धनमा रहेका दलहरुले एमालेका विरुद्ध संसद विघटनलाई चुनावी एजेण्डा बनाएका सन्दर्भमा महासचिव पोखरेलले भन्नुभयो, ‘२०७४ को निर्वाचनमा भोट माग्दा काँग्रेसका विरुद्धमा बामपन्थीहरुलाई भोट भनी माग्ने र निर्वाचन परिणाम आइसकेपछि काँग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बन्ने प्रयास भए । यो जनताको जनमतविपरीत भएकाले ताजा जनादेशमा जानुपर्छ भन्ने मान्यतामा संसद विघटन भएको हो ।’
उहाँले जनताका पक्षमा काम गर्दासम्म कसले संसद विघटन गर्छ प्रश्न गर्दै जनमतविरुद्ध काम हुन थालेपछि त्यसो हुन नदिई पुनः जनतामा जानुपर्छ भन्ने मान्यतामा संसद विघटन भएको हो भन्नुभयो ।
महासचिव पोखरेलले विदेशीले के भन्छ त्यसअनुसार चल्ने सरकार होइन, देशको विकास र समृद्धि तथा जनताको हितमा काम गर्ने सरकार गठनका लागि एमालेका पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।
महासचिव पोखरेलले वर्तमान गठबन्धन सरकार जनताका समस्यामा कुनै चासो र सरोकार नराख्ने वताउँदै किसानका समस्या समाधानका लागि पनि एमालेको सरकार आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा प्रधानमन्त्री स्वयंले वंगलादेशका प्रधानमन्त्रीसँग टेलिफोनमा कुरा गरेर रासायनिक मल किन्ने काम भएको थियो । गठबन्धन सरकारले किसानका लागि खै मल खरीद गरेको रु तोरी छर्ने बेलामा किसानहरु कालोबजारीमा मल किन्न बाध्य छन् ।’
दाङको घोराही र तुल्सीपुर अस्पताल विगतमा रेफर अस्पतालको रुपमा रहेका र अहिले विशेषज्ञसहितका अस्पतालका रुपमा विकास गरिएको र आगामी दिनमा दाङलाई डाक्टर र नर्स उत्पादन गर्ने जिल्लाका रुपमा परिचय दिइने छ भन्दै महासचिव पोखरेले नेकपा एमालेको शिक्षा, स्वास्थ्य र रोजगारीमा प्राथमिकता रहेको बताउनुभयो ।
उहाँले सडक, खानेपानी, सिंचाई र तटबन्ध निर्माणका क्षेत्रमा गरिएका कामको पनि चर्चा गर्नुभयो । महासचिव पोखरेलले शनिबार पनि चुनावी भेला, भेटघाट कार्यक्रमलाई निरन्तरता दिनुभएको थियो ।






प्रतिक्रिया