अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोक-२ बाट एमालेका उम्मेदवार को हुन् शेरबहादुर तामाङ ?

सिन्धुपाल्चोक-२ बाट एमालेका उम्मेदवार को हुन् शेरबहादुर तामाङ ?


काठमाडौँ – ज्यान दाउमा राखेर राज्य सत्ता परिवर्तनको संवाहक बोकेर आन्दोलनमा होमिए । लामो समय जेल जीवन बिताए । भूमिगत, अर्धभूमिगत,निर्वासन तथा बन्दी जीवन बिताए । सिन्धुपाल्चोकको विकट कुनो सिन्धुधुसेनीमा जन्मिए । राज्यसत्ता परिवर्तनबाट देश र सिन्धुवासीको मुहार फेर्ने सपना बुने । र, सुरु गरे देश र सिन्धुवासीले बिर्सनै नसक्ने दूरगामी कामहरू ।

नेकपा एमाले नेता शेरबहादुर तामाङ देश र सिन्धुवासीका लागि बिर्सनै नसक्ने नाम हो । सुकुम्वासीहरूको पीडा होस् या नागरिकका स्वास्थ्योपचारमा निःशुल्क व्यवस्था होस, महिलाहरूका हकहित र अधिकारको सुनिश्चितताको विषय होस्, विकास निर्माणका काम होस् या सिन्धुपाल्चोकका सडकहरूलाई कालोपत्रे गर्ने काम । सिन्धुपाल्चोक र देशले सधैँ सम्झने नाम हो शेरबहादुर तामाङ । जिल्लाको विकट विकट ठाउँमा बत्ती पानी, सडक निर्माणको कामले पनि सिन्धुपाल्चोकवासीले कहिल्यै नबिर्सने नाम ।

सिन्धु राजनीतिको अग्रभागमा रहेर जिल्लाको समग्र विकासका लागि ४१ वर्षदेखि राजनीतिमा सक्रिय रहेका तामाङ राज्यसत्ता परिवर्तनको सङ्घर्षमा दूरगामी महत्त्वका पात्र हुन् । २०४२ देखि २०४७ सालसम्म पार्टी सहयोग ग्रुपमा रहेर अर्धभूमिगत रूपमा काम गरेका तामाङ र प्रजातन्त्र प्राप्ति पछि जनजीविका र पूर्ण लोकतन्त्र प्राप्तिको आन्दोलनमा पटक-पटक गिरफ्तार भई पटक-पटक बन्दी बन्नुभयो । २०५८ देखि २०६२ सम्म साँगठानिक काममा रहेर अर्धभूमिगत रूपमा पार्टीका काम र गणतन्त्रका लागि नेतृत्वलाई घचघच्याइरहुनुभयो ।

२०२५ चैत्र १५ मा सिन्धुपाल्चोकको विकट कुनो सिन्धुधुसेनीमा माता स्व‍: फुलमाया तामाङ र बुबा स्व:प्रताप सिंह तामाङको ज्येष्ठ पुत्रका रूपमा जन्मिनु भएका तामाङ पञ्चायती राज्यसत्ताविरुद्ध अडिग भएर उभिनुभयो । पञ्चायतविरुद्ध लागे बापतको इनामी जेल सजाय पाउनुभयो । जेल सजायबाट मुत्त भएपछि भूमिगत अर्धभूमिगत हुँदै पञ्चायतविरुद्ध डटिरहे लागिरहे । सिन्धुको मुहार फेर्न नेकपा एमालेबाट सक्रिय राजनीतिमा लागेका तामाङ सिन्धुपाल्चोकको भूमि सम्बन्धी समस्या, सुकुम्वासी सम्बन्धी समस्यामा अग्रभागमा रहेर सिन्धु सुकुम्वासीले बिर्सनै नसक्ने काम गर्नुभयो ।

विद्यार्थी राजनीतिबाट उदाएका नेता तामाङ २०३७ साल अनेरास्ववियु विद्यालय प्रारम्भिक कमिटी, २०३८ साल अनेरास्ववियु जिल्ला कमिटी सदस्य, २०४० साल अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्ष, २०४१ साल अनेरास्ववियु बागमती अञ्चल कमिटी संस्थापक सदस्य, २०४२ देखि २०४७ सम्म पार्टी सहयोग ग्रुप सदस्य, २०४७ साल नेकपा माले पार्टी सङ्गठित सदस्यता प्राप्त,२०४७ साल प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ केन्द्रीय सदस्य,२०४८ साल युवा सङ्घ केन्द्रीय कार्यालय सचिव, २०५१ साल प्ररायुसंघ सचिव,२०५१ साल नेकपा एमाले सिन्धु काठमाण्डौं सम्पर्क मञ्च सचिव, २०५४ साल युवा सङ्घ महासचिव,२०५८ नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य,२०५९ नेकपा एमाले बागमती अञ्चल कमिटी सदस्य, २०६० युवा सङ्घ केन्द्रीय उपाध्यक्ष, २०६५ नेकपा एमाले बागमती अञ्चल कमिटी सचिव, २०६८ नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा युवा इन्चार्ज,२०७० नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज हुँदै २०७५ नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय कमिटी सदस्य बन्नुभयो ।

२०६४ साल सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको तर्फबाट संविधानसभा सदस्य उम्मेदवार बनेका उहाँ तत्कालीन माओवादी केन्द्रका उम्मेदवार दावा तामाङसँग ९८ मतले पराजित बन्न पुग्नुभयो । २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ बाटै संविधानसभा सदस्यमा निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी तत्कालीन राप्रपाका केन्द्रीय अध्यक्ष पशुपति शम्सेर जबरालाई हराउँदै संसदीय यात्राको सुरुआत गर्नुभयो । फेरी ०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट बाम गठबन्धनका उम्मेदवार बने र विजयी हासिल गर्नुभयो । उहाँको संसदीय राजनीतिक यात्राको शुभारम्भसँगै २०७५ चैत्र २ गते नेपाल सरकार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको रूपमा नियुक्त भए । कोरोनाले देश आक्रान्त पारिरहेको बेला स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाले २०७८ जेठ २१ गते नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको रूपमा नियुक्त हुनुभयो ।

सिन्धुपाल्चोकमा पशुपतिशमशेर जबरालाई लगातार दुई पटक पराजित गरेर ‘राणा शासन’ ढालेको बताउने तामाङ मानव शास्त्रमा पिएचडी गरिरहेका र बार काउन्सिलबाट लाइसेन्स लिएका अधिवक्ता पनि हुन् । नेपाल ल क्याम्पसबाट एलएलबी गरेका एमाले सांसद तामाङले इतिहास र मानव शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ मानव शास्त्रका पिएचडी होल्डरसमेत हुन् ।

सिन्धुवासीका जनताको आवाज बनेर जनताको शासक होइन सेवक बनेर काम गर्ने  बताउने तामाङ आसन्न आम निर्वाचनका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट एमालेको उम्मेदवार छन्। लोकल रक्सी र गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ भन्ने विधेयक ल्याउने तामाङका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत छन् । मोहन बहादुर बस्नेत पूर्व सञ्चार मन्त्री समेत हुन्। नेपाली काँग्रेसको बहालवाला नेताका रूपमा आफूलाई उभ्याउने बस्नेत यसअघि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका छन् । आफूले क्षेत्र नम्बर मा टिकट नपाए गठबन्ध तोड्ने धम्कि दिँदै आएका बस्नेतको भागमा क्षेत्र नम्बर १ नपरेपछि रुष्ट बनेका बस्नेत क्षेत्र नम्बर २ कै टिकटमा चित्त बुझाएर टुरिष्ट उम्मेदवारका रुपमा क्षेत्र नम्बर २ सरेका छन् । यो पटक सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा टुरिष्ट रैथानेबीचको भिडन्त देखिने भएको छ ।