ताप्लेजुङ-नेकपा एमालेका सचिव तथा ताप्लेजुङ जिल्लाबाट प्रतिनिधी सभाका उम्मेदवार योगेश भट्टराईले आफूविरुद्ध भ्रामक सूचना प्रवाह नर्गन आग्रह गर्नुभएको छ । उहाँले विज्ञप्ति जारी गर्दै आफू विरुद्ध प्रचार गरिएका भ्रामक सूचनाहरूको पछि नलाग्न जिल्लावासीलाई आग्रह गर्नुभएको हो ।
ताप्लेजुङ सामाजिक, सांस्कृतिक एवं धार्मिक सहिष्णुताले भरिपूर्ण जिल्ला रहेको र आफू प्रतिनिधिसभा सदस्य र केही समय मन्त्री समेत रहँदा ताप्लेजुङका लागि माङ्हिम तथा माङ्गेना यकहरुको निर्माण, लिम्बु संग्राहालयको विकास, गुम्बाहरूको पूर्वाधार विकास , बहुसांस्कृतिक संग्रहलयको निर्माण , निसान छापको संरक्षण, भिन्तुना भवनको निर्माण , लगायतका सामाजिक र सांस्कृतिक पहिचानका लागि सक्दो रकम व्यवस्थापन गरेको कुरा सबैसामु प्रस्ट रहेको भन्दै भट्टराई ले भ्रामक सूचना जनतामाझ नछर्न विज्ञप्ति मार्फत आग्रह गर्नुभएको छ ।
भट्टराईद्वारा जारी विज्ञप्तिमा सुकेटार विमानस्थलको सम्बन्धमा आफूले २०७८ जेष्ट १५ गते नै सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गरी असन्तुष्टि जनाएको उल्लेख गर्नुभएको छ । तिम्वूङ पोखरी तिम्वूङ पोखरीनै हुने र त्यो विष्णु पोखरी हुन नसक्ने उहाँको दाबी रहेको छ । पाथीभराको विषयमा खोज अनुसन्धान र तथ्यहरूको विश्लेषणबाट त्यसको टुंगो लगाउन उपयुक्त हुने उहाँको राय छ ।
‘कुनैपनि सांस्कृतिक स्थलहरू आफ्नै ऐतिहासिकता र विशिष्टताबाट परिचित हुन्छन्,’ भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘कसैले पाथीभरा त कसैले मुक्कुमलुङका रूपमा सम्मान गर्छन, पाथीभरा वा मुक्कुमलुङ जुन रूपमा भएपनि त्यसको ऐतिहासिकता सांस्कृतिक महत्त्व र गरिमामा आँच आउन नदिनु समस्त ताप्लेजुङवासिको साझा कर्तव्य हो । तमोर कोरिडोर,मेची राजमार्गको सुकेटार-गडि-थिवा सडकलगायत अन्य धेरै पूर्वाधार विकासको सुरुवात सँगसँगै जातीय, धार्मिक र सामाजिक क्षेत्रको समग्र विकासमा आफूले काम थालनी गरेको र आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महागुरुलाई राष्ट्रिय विभूति घोषणा गरी सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी गराउँदै कसैको भ्रामक सूचनाको पछि नपरी मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा एकालेका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्दछु ।’







प्रतिक्रिया