बुटवल – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ४ मंसिरको चुनावपछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दाबी गर्नुभएको छ ।
आज रुपन्देहीमा एमालेले गरेको कार्यक्रममा उहाँले सत्ता गठबन्धनले भावी प्रधानमन्त्री समेत तोक्न नसकेको र चुनावपछि भागबण्डाकै कारण गठबन्धन फुट्ने र एमालेको सरकार बन्ने दावी गर्नुभयो ।
‘सत्ता गठबन्धनमा चुनाव अगावै आंशिक फुट आइसकेको छ’, पौडेलले भन्नुभयो, ‘चुनावको नतिजा पनि भने जस्तो आउंदैन, त्यसपछि गठबन्धन पुरै फुट्छ र एमालेकै नेतृत्वमा सरकार बन्छ ।’
उपाध्यक्ष पौडेलले नेकपा एमालेले अघि सारेका विकास निर्माण र योजनाहरुबाट विपक्षीहरु आत्तिएको बताउनु भयो ।
तिनाउ–दानव करिडोर, मोतीपुर औद्योगिक क्षेत्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र, कालीगण्डकी तिनाउ डाइभर्सन, सिद्धबाबा सुरुङमार्ग, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठूला विकास पूर्वाधारका कारण एमालेको लोकप्रियता बढेको पौडेलले दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमालेको सरकारको पालामा विष्णु पौडेलले रुपन्देहीको रुप बदल्ने र विकासमा रोलमोडल बनाउने गरी एक पछि अर्को ठूला आयोजना ल्याउने र बजेट पार्ने गरेपछि विपक्षीहरु आत्तिएका हुन् ।’






प्रतिक्रिया