अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेकै पालामा देश सुरुङ युगमा प्रवेश : प्रदिप ज्ञवाली

एमालेकै पालामा देश सुरुङ युगमा प्रवेश : प्रदिप ज्ञवाली


गुल्मी – नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले देशलाई सुरुङ युगमा प्रवेश गराउने काम एमालेकै सरकारको पालामा सुरु भएको बताउनुभएको छ । 

काठमाडौंको नागढुंगामा एमालेकै पालाबाट सुरुङ निर्माण सुरु भएको बताउनुहुँदै उहाँले बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्गको डिपिआरको काम पनि एमालेकै पालामा भएको बताउनुभयो।

 गुल्मी १ का प्रतिनिधिसभाका उम्मेदवार ज्ञवालीले विभिन्न स्थानमा आयोजित घरदैलो कार्यक्रमलाई सम्वोधन गर्दै भन्नुभयो, ‘देश अहिले सुरुङ युगमा प्रवेश गरेको छ, यसको आधार एमालेकै सरकारले तयार गरेको हा ।’

नेता ज्ञवालीले तराईमा सशस्त्र संघर्ष गरी हिंसा मच्चाइरहेका समूहलाई पनि एमालेकै सरकार हुँदा देशको मूलधारको शान्तिपूर्ण राजनीतिमा ल्याएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘तराईमा द्वन्द्व चर्काएका सिके राउत लगायतका समूहलाई शान्तिको बाटोमा ल्याउन सफल भयौं, यो एमाले  नेतृत्वको सरकार हुँदा संभव भएको हो ।’

मधेश केन्द्रित दलहरुले संविधान जलाइरहेको र सिके राउतले मधेशमा द्वन्द्व चर्काउँदै गरेको स्मरण गर्दै ज्ञवालीले भन्नुभयो, ‘विप्लव शान्ति प्रकृया बाहिरै थिए तर जब नेकपाको सरकार बन्यो विगतका सबै द्वन्द्व समाधान भए ।’

उहाँले मुलुकलाई द्वन्द्वबाट मुक्त बनाउन एमाले नेतृत्वको सरकारले सफलता पाएको दावी गर्दै शान्ति, स्थिरता र विकासका लागि एमालेको जित मुलुकले खोजिरहेको बताउनुभयो ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहनुभएका ज्ञवालीले एमालेको राष्ट्रियताको अडानकै कारण देशले नयाँ नक्सा पाएको बताउनुभयो । ुकालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा बनाएका छौं, साना तीना धक्काले देश झुक्दैन भन्ने प्रमाणित गरेका छौं, उहाँले भन्नुभयो ।

देशको भूभागमाथि आफ्नो वैधानिक दाबीमात्र प्रस्तुत नगरी औपचारिक रुपमा वार्ताको थालनी समेत गरेको अवस्थामा विभिन्न षडयन्त्रपूर्वक सरकार ढालिएको उहाँको भनाई छ ।

नेकपाको नेतृत्वमा साढे तीन बर्ष सरकार चलेको बताउँदै उहाँले त्यस अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशले विकासमा फड्को मारेको उल्लेख गर्नुभयो । उहाँले नेकपा नेतृत्वको तीन बर्षको सरकार इतिहासकै सफल सरकारको रुपमा रहेको दावी गर्नुभयो । ज्ञवालीले अहिले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा केन्द्रित हुनुहुन्छ।