अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा-१ मा विश्वप्रकाश शर्मामाथि धावा बोल्ने अग्नि खरेल को हुन् ?

झापा-१ मा विश्वप्रकाश शर्मामाथि धावा बोल्ने अग्नि खरेल को हुन् ?


झापा – आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको नजिकिँएसँगै यतिखेर सबैतिर निर्वाचनले छप्पकै छोपेको छ ।

झापामा पनि चुनावी सरगर्मी निक्कै बढेको छ । झापामा पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्रीदेखि राजनीतिक दलका केन्द्रीय नेतृत्व चुनावी प्रतिस्पर्धामा उत्रिएका कारण देशभरको चासो अहिले झापातर्फ तेर्सिएको छ । त्यसमा पनि झापाको निर्वाचन क्षेत्र नम्बर १ ले सबैलाई तानेको छ । जहाँ प्रतिनिधिसभा सदस्य एक पदका लागि राजनीतिक दलका र स्वतन्त्र गरी १५ जना उम्मेदवार मैदानमा छन् ।

१५ जना उम्मेदवार भए पनि सवैको दृष्टि भने नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तलमेलबाट चुनावी मैदानमा उत्रिएका नेकपा एमाले स्थायी कमिटी सदस्य, पूर्व महान्ययाधिवक्ता, पूर्व कानुन मन्त्री झापाका इञ्चार्ज अग्निप्रसाद खरेल र नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धनतर्फका उम्मेदवार नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा तर्फ छ ।

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रविन कोइरालासँग पराजित भएका नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा २०७४ सालको प्रतिनिधिसभा सदस्यमा समेत झापा क्षेत्र नं १ बाट वामगठन्धनका उम्मेदवार सुरेन्द्रकुमार (राम) कार्कीसँग दोस्रो पटक पराजित हुनुभयो । शर्मा निर्वाचनको हारलाई स्वभाविक रुपमा लिनुहुन्छ ।

२०७४ सालमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार कार्कीले ३६ हजार १७३ मत ल्याएर विजयी हुदाँ शर्माले ३३ हजार ३१० मत प्राप्त गर्नुभएको थियो । झापाको १ नम्बर क्षेत्रबाट पटक–पटक पराजित बन्नुभएका शर्मा आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यमा एमालेका बौद्घिक नेता अग्निप्रसाद खरेलसँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । खरेल नेपालीजनमा निक्कै लोकप्रिय हुनुहुन्छ। त्यसमा पनि नेपाली कानून व्यवसायीहरुले खरेललाई निक्कै मन पराउछन् ।

को हुन् खरेल ?

२०१७ सालमा पूर्वी पहाडी जिल्ला ताप्लेजुङ्गको थेचुम्वुमा पिता रुपनारायण र माता रुपादेखि खरेलको कान्छो पुत्रको रुपमा जन्मनु भएको खरेल २०२४ सालदेखि झापाको गौरादहमा बसोबास गर्न आइपुग्नुभएको थियो । अहिले भने बिर्तामोडमा उहाँको बसोबास रहेको छ । निकट भविष्यमा मेचीनगरमा स्थायी रुपमा बसोबास गर्ने योजना उहाँको छ ।

२०३४ सालमा एसएलसी उत्तीर्ण गर्नुभएका खरेल १७ वर्षको उमेरमा राजविराज क्याम्पसको स्ववियू सचिव हुँदै काठमाडौं हानिनुभयो । नेकपा एमालेभित्र बौद्धिक नेताका रुपमा चिनिनु हुने खरेल व्यवस्था परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा नेपाली जनताका साथ सहभागी हुँदा थुप्रै पटक जेल बस्नु पर्‍यो । २०५४ सालमा नेपाल बार एसोसिएशनको महासचिव बन्नुभयो । प्रष्ट वक्ता र वैचारिक रुपमा अब्बल मानिने क्षमतावान, काममा विश्वास गर्ने, कम बोल्ने गरेको कामलाई प्रचारमा ल्याउन नरुचाउँने खरेलले नेपाल बार एसोसिएशनको महासचिव भएको १५ वर्षपछि २०६९ सालमा वरिष्ठ अधिवक्ता प्राप्त गर्नुभयो ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्नुभएको खरेल राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्ताको पदमा नियुक्त भई मिति २०७४ साल फागुन ८ गतेदेखि कार्य प्रारम्भ गर्नुभएको थियो । उहाँ नेपालको २६ औं महान्यायाधिवक्ता हुनुभयो। विक्रम सम्वत २०४७ सालपछिका महान्यायाधिवक्ताहरुमध्ये तीन वर्षको कार्यकाल पूरा गर्ने उहाँ तेस्रो महान्यायाधिवक्ता हुनुहुन्छ । उहाँको कार्यकालमा सरकारी मुद्दाको अनुसन्धान एवं अभियोजनलाई प्रभावकारी बनाउन, सरकारी वकीलको व्यावसायिकता विकास गर्न र महान्यायाधिवक्ताको कार्यालय र मातहतका कार्यालयको संस्थागत सुधार गर्न महत्वपूर्ण प्रयासहरु भएका छन् ।

३ वर्ष १८ दिन महान्यायाधिवक्ता हुदाँ खरेलले महान्यायाधिवक्ता कार्यालयको उल्लेखनीय सुधार गरेको र सरकारी वकिलको क्षमता वृद्धि गरी न्याय क्षेत्रको समन्वय गरी महत्वपूर्ण काम गरेकै कारण आज पनि नेपालका हरेक कानून व्यवसायीहरुले उहाँलाई विर्सन सक्दैनन् । संहिता कार्यान्वयनका लागि अग्रसरता, सचेतना कार्यक्रम, एसिडजन्य प्रहार एवम् एसिडको नियमन लगायतका थुप्रै सुधारका कार्यहरु उहाँको कार्यकालमा भएका छन् ।

आर्थिक वर्ष २०७७/७८ को शुरुवातसँगै सरकारी वकिल कार्यालयहरुबाट सम्पादन हुने कार्यहरुलाई थप प्रतिफलयुक्त बनाउने ध्येयले २०७७ साउन ९ गते खरेलले देशैभरका सम्पूर्ण सरकारी वकील कार्यालयका प्रमुखहरुलाई सम्बोधन गर्दै अभियोजन सुधार वर्षको घोषणा गर्नुभएको थियो । विशिष्टीकरण सम्बन्धी मापदण्ड पुगेका ७२ जना सरकारी वकीलहरुलाई विशिष्टीकृत सरकारी वकीलको रुपमा सूचीकरण गरेपछि उहाँ नेपाली कानुन व्यवसायीहरुमाझ निक्कै लोकप्रिय बन्नुभयो ।

विशेष सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका लागि माइतीघरमा ६ रोपनी १ आना जग्गा प्राप्त जिल्ला सरकारी वकील कार्यालय, चितवनका लागि दश कठ्ठा जग्गा प्राप्त गराउन सफल, महान्यायाधिवक्ताको कार्यालयका लागि नवर्निमित भवन रहेको स्थानमा थप एक रोपनी चार आना तीन दाम जग्गा प्राप्त भएको छ ।

उच्च सरकारी वकिल कार्यालय, वीरगञ्जका लागि दुई विघा र उच्च सरकारी वकील कार्यालय, राजविराजका लागि पाँच कठ्ठा जग्गा प्राप्त भएको छ । जिल्ला सरकारी वकील कार्यालय, भक्तपुरको नाममा रहेको कार्यालयको अढाई तलाको १० कोठे भवन र सो भवन रहेको ०–४–१–० रोपनी क्षेत्रफलको जग्गासँग भक्तपुर नगरपालिका अन्तरगतको जग्गा एकिरण आयोजनाको १–१–१–०।१६ रोपनी क्षेत्रफलसँगको जग्गा सट्टापट्टा गर्ने प्रक्रिया अघि बढाएकै कारण पनि खरेललाई आज पनि आम नागरिकले सम्झिने गरेका छन् ।

उहाँको कार्यकालमा ३७ वटा सरकारी वकील कार्यालय भवनको समुद्घाटन र ११ कार्यालय भवन निर्माणका लागि शिलान्यास भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको कार्यालय उद्घाटन गर्नुभएको थियो भने तात्कालिन महान्यायाधिवक्ता खरेलले ३७ वटा उद्घाटन गर्नुभएको थियो ।

यसैका कारण हरेक नेपाली जनजन र हरेक कानुन व्यवसायीहरुको मनमनमा बस्न सफल हुनुभएको छ, अग्निप्रसाद खरेल । सरकारको प्रतिरक्षा गर्ने दायित्व महान्यायाधिवक्ताको हो । र, त्यो संवैधानिक दायित्व भन्ने खरेल संवैधानिक दायित्वबाट महान्यायाधिवक्ता पछाडि हट्न नमिल्ने बताउनुहुन्थयो ।

खरेलको तीन वर्षे कार्यकाल भौतिक निर्माणका काममा नै वित्यो । आफ्नो कार्यकालमा चार अर्बभन्दा बढीको मुख्य कार्यालयदेखि अन्य सरकारी वकिलको कार्यालयमा भवन निर्माण गर्न खर्च गरेको अहिले पनि नेपालका थुप्रै कानून व्यवसायीहरु बताउँछन् । महान्यायाधिवक्ताको भवन निर्माण देखि करीब एक अर्ब ९० करोड रुपैयाँको लागतमा राम्रो भवन निर्माण गदैं र ३८ वटा भवन बनाउन शिलान्यास गरेको कानुन व्यवसायीहरुको मनश्पटलमा अझै ताजै छ ।

५० भन्दा बढी जिल्लामा इन्टरनेट प्रणालीको विकास भई काम शुरु गरेको र बाँकी जिल्लामा पनि कोभिडको कारण रोखिएको काम खरेलकै कार्यकालबाट पुनः शुरु गर्नुभएको थियो । खरेल यो सरकारी वकिलको कार्यालयलाई भौतिक तथा प्राज्ञिकरुपमा सुविधा सम्पन्न बनाउनुपर्ने जरुरी थियो र त्यो काम भएको छ, अब सरकारी वकिलले तालीम, अध्ययनमार्फत आफ्नो क्षमता विकास गर्न जरुरी रहेको बताउनुहुन्छ ।

खरेलले महान्यायाधिवक्ता भएका बखत आफ्नो कार्यकालमा सरकारी वकिलको क्षमता विकासका लागि २ सयभन्दा बढी वकिललाई विदेशमा अध्ययन तालीमको व्यवस्था गर्नुभयो। आगामी दिनमा पनि निरन्तरता दिने र पाँच वर्षमा सबै सरकारी वकिलको कार्यालयको नयाँ भवन निर्माण कार्य सम्पन्न गर्ने योजना उहाँसँग थियो । सुधारात्मक दण्ड व्यवस्थापमा ध्यान दिएर कारागार व्यवस्थापनमा ध्यान दिने योजनामा रहनु भएका खरेल सरकारी वकिलको क्षमता अभिवृद्धि गरी व्यावसायिक बनाउन पूर्ण प्रयास रहेको सुनाउनुहुन्छ ।

नेपालमा गरीबी, अज्ञानता तथा अशिक्षा नै मानव बेचबिखनको मुख्य कारणा भएको बताउनुहुने खरेलले मानव बेचबिखनको अन्त्य गराउन देशका सबै सरकारी वकिललाई कडाइकासाथ कानूनअनुसार कार्यान्वयनमा ल्याउन निर्देशन गर्नुभउको थियो । लोभ, लालच, धम्कीका कारण पीडितले अभियोग फिर्ता लिने गरेको दुःखेसो व्यक्तगर्दै खरेल मानव बेचबिखन सम्बन्धी परेका मुद्दामा अदालतले निरन्तर सुनुवाइ गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

झापा जिल्ला विकासमा उहाँले सम्झन लायक धेरै काम गर्नुभएको छ । थुप्रै काममध्ये सम्झन लायक पहिलो काम झापाको बिर्तामोडमा १३ विगाह जमीनमा रहेको डोमालाल रंगशाला पनि हो । राज्य संयन्त्र मार्फत त्यो रंगशालालाई निजीकरणबाट जोगाउनु भएको थियो । त्यसमा पनि अझ केही काम बाँकी छन्। १८ सय विद्यार्थी पढने मोहनमाया माध्यमिक विद्यालयको ५० वर्ष पुरानो विवाद सुल्झाएर जग्गा प्राप्तिको ऐन मार्फत जग्गा सरकारले लिएर विद्यालय जोगाउने काम भएको छ । यी र यस्तै विषयहरुमा उहाँको पहल एवम् सक्रियताको बारेमा आम झापालीहरु जानकार छन् ।