सुर्खेत – नेकपा एमालेले यही कात्तिक २९ गते सुर्खेतको वीरेन्द्रनगरमा विशाल चुनावी जनसभा गर्ने भएको छ ।
आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आयोजना हुने उक्त जनसभालाई एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।
चुनावी सभामा दशौँ हजार जनसमुदायको सहभागिता रहने एमाले सुर्खेतका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख गंगाराम तिमल्सेनाले बताउनु भयो । उहाँका अनुसार एमाले सुर्खेतको जिल्ला कमिटी सचिवालय बैठकले उपाध्यक्ष कुलमणि देवकोटाको संयोजकत्वमा सात सदस्यीय जनसभा व्यवस्थापन समिति गठन गरेको छ ।
जसमा जिल्ला पार्टी सचिव कविन्द्रकुमार केसी, उपसचिव घनश्याम पाण्डे, सचिवालय सदस्य डम्मर तिवारी, गंगाराम तिमिल्सेन, पूर्णप्रसाद पौडेल र नगर कमिटी अध्यक्ष निलकण्ठ खनाल सदस्य रहेका छन् ।
वीरेन्द्रनगरको चुनावी जनसभालाई एमाले स्थायी कमिटी सदस्य एवं सुर्खेत क्षेत्र-२ ‘क’ प्रदेश सभा सदस्यका उम्मेदवार यामलाल कँडेललगायतका शीर्ष तथा प्रभावशालि नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सोही दिन दैलेखमा हुने एमालेको चुनावी जनसभालाई पनि अध्यक्ष ओलीसहितका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।
अध्यक्ष ओलीले निर्वाचनअघि सुर्खेत र दैलेखसहित ४० जिल्लाका चुनावी जनसभालाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।






प्रतिक्रिया