अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भौतिकसँगै मानवीय विकास जनताको चाहना हो : विष्णु पौडेल

भौतिकसँगै मानवीय विकास जनताको चाहना हो : विष्णु पौडेल


बुटवल – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले भूमिहीन तथा सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने बताउनुभएको छ।

एमाले नेतृत्वको अघिल्लो सरकारले सुकुम्वासी समस्या समाधानको काम अन्तिम चरणमा पुर्‍याए पनि अदालतले रोकेको भन्दै उहाँले निर्वाचनपछि उच्च प्राथमिकताका साथ काम गर्ने बताउनुभयो ।

एमाले बुटवल–६ को शाखा कमिटी भेलालाई आज सम्बोधन गर्नुहुँदै उपाध्यक्ष पौडेलले एमाले नेतृत्वको सरकारले मात्र सुकुम्वासीलाई जग्गाधनी बनाउने  बताउनुभयो ।

‘लालपुर्जा सर्वाधिक चासोको विषय हो’ उहाँले भन्नुभयो, ‘हाम्रो सरकारको पालामा उच्च  प्राथमिकताका साथमा जग्गाधनी प्रमाणपत्र दिने गरी आयोगले केन्द्र र जिल्लामा काम गरिरहेका थिए । सुकुम्वासीका विरोधीहरूले अदालतमा गएर यो काम रोकी पाउँ भनेर मुद्दा हाले । अदालतले तत्काल केही नगर्नु नगराउनु भन्यो । त्यसपछि अदालतले विद्यमान कानुनको आधारमा लालपुर्जा बाँड्न पाइँदैन, नयाँ कानुन बनाएर मात्र काम सुरु गर्न भनेर फैसला गर्दा यो रोकिएका हो ।”

रुपन्देही-२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पौडेलले जिल्लामा भौतिकसँगै मानवीय विकास जनताको चाहना भएको भन्दै त्यहीअनुसार काम अगाडि बढाउने समेत बताउनुभयो । भौतिक र मानवीय विकासलाई सँगसँगै हिँडाएर रुपन्देहीलाई अब्बल जिल्ला बनाउने उहाँको भनाइ छ ।

रुपन्देही विकासका दृष्टिले रोलमोडल जिल्ला भएको विकास सिक्न यहाँ आउने वातावरण बन्दै गएको उहाँले बताउनुभयो ।