अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिंसा नरुचाउने लोकतन्त्रवादी साथीहरुलाई एमालेमा स्पेस र भविष्य छ : पार्वत गुरुङ

हिंसा नरुचाउने लोकतन्त्रवादी साथीहरुलाई एमालेमा स्पेस र भविष्य छ : पार्वत गुरुङ


दोलखा – नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री पार्वत गुरुङले हिंसा नरुचाउने लोकतन्त्रवादी साथीहरुलाई एमालेमा स्पेस र भविष्य रहेको बताउनुभएको छ ।

जिल्ला पार्टी कार्यालय, दोलखामा बिहीबार कांग्रेस गौरीशंकर गाउँपालिका सचिव अर्जुन ओली र साविक मार्वु गाविसको सिंगो गाउँ कमिटीलाई एमालेमा प्रवेश गराउँदै पूर्व मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले माओवादी केन्द्रका उम्मेद्वारलाई हँसिया हथौडामा भोट नहाल्ने कांग्रेसका लोकतन्त्रवादी नेता कार्यकर्तालाई एमाले प्रवेश गराउने अभियान चलाउनुपर्ने बताउनुभयो ।

‘दोलखामा धेरै इमान्दार लोकतन्त्रवादी, हिंसा नरुचाउने साथीहरु हुनुहुन्छ, उहाँहरुले माओवादीका उम्मेद्वारहरु हसियाँ हथौडामा भोट हाल्ने मनस्थितिमा हुनुहुन्न’, गुरुङले भन्नुभयो, ‘त्यस्ता साथीहरुलाई लोकतान्त्रिक पार्टी एमालेमै स्पेस र भविष्य छ, त्यसैले हामीले सबै गाउँ र वडाहरुमा कांग्रेसका नेता–कार्यकर्ता प्रवेश अभियान चलाउनुपर्छ ।’

पार्टी प्रवेशले दोलखामा एमालेको वर्चश्व रहेको कुरा पुर्नस्थापित भएको भन्दै उहाँले यसले ४ मंसिरको निर्वाचनमा पार्टीको विजयलाई थप सुनिश्चित गरेको पनि प्रष्ट्याउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य रचना खड्का, सरस्वती बस्नेत, प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिबाकोटी, प्रदेशसभाका उम्मेद्वारहरु नरबहादुर श्रेष्ठ, भरतबहादुर केसीलगायत सहभागी हुनुहुन्थ्यो ।