जुम्ला – आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवधिभर यहाँ मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।
निर्वाचन हुन अब केही दिन बाकी हुँदा जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताउनुभयो । मतगणना नसकिञ्जेलसम्मको समय अवधिमा शान्ति सुरक्षा कायम गर्न मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा हुने आमसभा, नारा जुलुस, भीडभाड लगायतका राजनीतिक पार्टीका कार्यक्रम निर्वाचन अवधिभर गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट जारी गरेका निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न यहाँका सबै राजनीतिक दलदेखि उम्मेदवारलाई जानकारी गराएको बताइएको छ । मतपत्रबाहेक सबै ५४ प्रकारका सामग्री जिल्लामा आइपुगेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया