सर्लाही – सर्लाहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कौडेना गाउँपालिका ३ का बासिन्दाले उम्मेदवार र उनीहरुका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाएका छन् ।
मङ्सिर ४ गते हुने चुनावलाई लिएर आजदेखि दलहरूले प्रचार-प्रसार गर्न पाउने भए पनि सर्लाहीको कौडेनामा भने दल र तिनका नेता तथा उमेदवारहरुलाई आवतजावतमा रोक लगाइएको छ । अहिले कौडेना गाउँपालिकाका युवाहरू संयुक्त रूपमा हुलाकी राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
तराईको लाइफलाइन मानिएको हुलाकी राजमार्ग निर्माणमा लापरबाही गरेको र जनताको स्वास्थ्यमा खेलबाड गरेको भन्दै कौडेना वडा नम्बर ३ का वडाअध्यक्ष पचु चौधरी कल्वारको नेतृत्वमा स्थानीय तथा युवाहरूको समुहले नेताहरूलाई चुनावी प्रचार-प्रसार गर्न आवतजावतमा रोक लगाएको हुन् ।

नेताहरूलाई आवत-जावतमा रोक लगाउने कार्यको नेतृत्व गरेका वडा अध्यक्ष चौधरीले हुलाकी राजमार्ग समयमै बनाउने भनेर प्रतिबद्धता गर्न र अलपत्र छाड्ने गरेको कारण नेता र नेतृत्वबाट पटक पटक धोका भएकोले आवतजावतमै रोक लगाउने निर्णय गरेर आफूहरू सडक अवरुद्ध गर्न बाध्य भएको बताउनु भयो ।
उहाँले समयमै बनाउन नसकिए पनि सडकमा नियमित पानी छिटेर धुलो उड्न रोक्ने कार्य समेत नगरेको भन्दै सडकमा उड्ने धुलोका कारण नागरिकको स्वास्थ्यमा नकारात्मक असर परिरहेको बताउनु भयो । उहाँले सडक नबन्दा तराईका हजारौँ बासिन्दाले यात्रामा कठिनाइ भोग्नु परी रहेको बताउनु भयो ।
उहाँले प्रशासनले समेत हुलाकी सडक नबनाउने ठेकेदारलाई कुनै कारबाही नगरेको भन्दै अब जनताले नै निर्णय गर्ने भन्दै आफूहरू सडक अवरुद्ध गर्न अघि बढेको बताउनु भयो । उहाँले तत्काल सडकमा पानी छर्कने काम गरे र सडक छिट्टै बनाउने प्रतिबद्धता भए मात्रै सडक खुलाउने बताउनु भयो । हुलाकी राजमार्ग नबन्दा स्थानीयहरूले वर्षौँ देखि सास्ती भोग्नु परेको छ, नेताहरूले चिलो गाडी चढेर आउने गरेको हुँदा धुलोको समस्यालाई मतलब नगरेको स्थानीय मनोज पासवानले जानकारी दिनुभयो ।






प्रतिक्रिया