झापा – जिल्ला निर्वाचन कार्यालयले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । उक्त कार्यालयले आज भद्रपुरमा आयोजना गरेको ‘निर्वाचनमा सञ्चार माध्यममको भूमिका’ विषयक कार्यक्रममा निर्वाचन अधिकृत तुलसीकुमार नेपालले निर्वाचको तयारीका विषयमा जानकारी गराउनुभएको हो ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिए पछि कूल मतदाताको सङ्ख्या छ लाख ६३ हजार तीन सय ११ पुगेका र तीमध्ये तीन लाख ३१ हजार ४४ पुरुष र तीन लाख ३२ हजार २५९ महिला रहेको उहाँले जानकारी गराउनुभयो ।
त्यस्तै जिल्लामा आठ अन्य समूहका मतदाताको सङ्ख्या रहेको छ । जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको सङ्ख्या एक हजार २१५ बढी रहेको बताइएको छ ।
पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा सबैभन्दा धेरै मतदाता क्षेत्र नम्बर ५ मा रहेको र सबभन्दा कम क्षेत्र नं१मा रहेको जिल्ला निर्वाचन अधिकृत नेपालले बताउनुभयो । उहाँका अनुसार क्षेत्र नम्बर १ मा मतदाताको सङ्ख्या एक लाख २० हजार ३७५ रहेको र क्षेत्र नम्बर ५ मा एक लाख ५४ हजार २८९ मतदाता रहेका छन् ।
जिल्लामा ७६६ मतदान केन्द्र र २८५ वटा मतदानस्थल कायम गरिएको निर्वाचन अधिकृत नेपालले बताउनुभयो । जिल्लामा दुई वटा मतदानस्थल अस्थायी रुपमा तयारी गरिएकामा जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि एउटा र प्रहरी, कर्मचारी लगायतका लागि जिल्लामा अर्काे रहेको छ ।
जिल्लाभर छ हजार २४२ जनाको अस्थायी मतदाता नामावाली तयारी गरिएको र उनीहरुलेसमेत मतदानमा सहभागिता जनाउने भएका छन् । कार्यक्रम मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।






प्रतिक्रिया