अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङ क्षेत्र-१ (क) का एमाले उमेदवार हिरा केसी चुनावी घरदैलो कार्यक्रमलाई तिब्र पार्दै

बागलुङ क्षेत्र-१ (क) का एमाले उमेदवार हिरा केसी चुनावी घरदैलो कार्यक्रमलाई तिब्र पार्दै


बागलुङ – आगामी मंसीर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि बागलुङ क्षेत्र–१ (क) मा एमालेका उमेदवार हिरा बहादुर केसीले मतदाता भेटभाटलाई तिब्रता दिनुभएको छ ।

मतदाताको अधिक संख्या रहेको बागलुङ नगरपालिका अन्तरगत बजार क्षेत्रमा केसीको सक्रियता बढेको हो । प्रचार अभियानलाई गाउँ र बजार केन्द्रीत गरी सञ्चालन गरिएको र अधिकांश गाउँमा एकपटक पुगीसकेपछि बजार केन्द्रीत अभियान शुरू गरिएको केसीले जानकारी दिनुभयो ।

घर–घरमा पुगेर मतदातासँग आर्शिवाद लिएको छु, मतदाताहरूको सल्लाह, सुझाव र आर्शिवादले अत्यन्तै उत्साह बढेको छ, केसीले भन्नुभयो, ‘चुनावमा जिताउने जिम्मा मतदाताको भयो, ५ वर्ष इमान्दारीताका साथ जनताको सेवा गर्ने काम मेरो भयो भनेको छु, मतदाताहरूले एकपटक राजकीय जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।’ 

राजनीतिक रूपमा एमालेले लिएको नीति, एमालेको नेतृत्व, एमालेले विकास निर्माणमा गरेका काम, राष्ट्रियता अखण्डताको संरक्षणमा एमालेको भूमिका जनताले राम्रोसँग बुझेको पाइयो, जनताले यसपटक एमालेलाई सत्ता सञ्चालनको जिम्मेवारी दिन आतुर देखिएको प्रचार अभियानका क्रममा आफूले पाएको केसीको भनाइ छ ।

केसी उमेदवार रहेको प्रदेशमा बागलुङ नगरपालिकाका ११ र काठेखोला गाउँपालिकाका ८ वटा गरी १९ वटा वडा रहेका छन् । एकसरो सबै वडामा पुगेर पार्टी कमिटिका वैठक, भेला गरेर निर्वाचन परिचालन समिति गठन गरिएको छ । अधिकांश वडामा प्रचार अभियान अन्तरगत वडा भेलाहरू पनि सकिएको र केहीमा बजार क्षेत्रको प्रचार सकेपछि जाने तयारी रहेको एमाले केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।  

२०७० सालको निर्वाचनमा नेपाली कांग्रेसका हरि बहादुर खड्कासँग थोरै मत अन्तरले पराजित भएका केसी अहिलेसम्म राजकीय जिम्मेवारीमा पुग्नु भएको छैन। विद्यार्थीकालदेखि निरन्तर राजनीतिमा लागेर पनि राजकीय जिम्मेवारीमा नपुगेका केसीलाई यसपटक उक्त जिम्मेवारीमा पु¥याउन सिंगो नेकपा एमाले पंक्ति जुटेको र मतदाताहरूले शुभेच्छा प्रकट गरेको एमाले जिल्ला सचिवालय सदस्य अमरबहादुर थापाले बताउनुभयो ।

एमाले उमेदवार हिरा बहादुर केसीसहित प्रतिनिधिसभामा डा.सूर्य पाठक र समानुपातिक तर्फका एमाले उमेदवारहरूलाई मत माग्न एमाले पोलिटव्यूरो सदस्य मन कुमारी केसी, केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, केन्द्रीय सदस्य कृष्णबहादुर केसी, गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य जनक पौडेल लगायत प्रदेश, जिल्ला र पालिका कमिटिका सम्बन्धित भूगोलका नेता कार्यकर्ताहरू खटिएका छन्।

सबै वडामा वडा स्तरीय निर्वाचन परिचालन समिति र सम्पर्क कार्यालय सञ्चालन गरी प्रचार तथा भेटभाट र निर्वाचन परिचालन व्यवस्थापन गरिएको जिल्ला कार्यालय सचिव समेत रहेका थापाले जानकारी दिनुभयो ।