अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मैले चिनेको राजेन्द्र राई !

मैले चिनेको राजेन्द्र राई !


धनकुटा – आज एकाएक सुदूर अतिततिर गोता खान पुगिरहेको छु । त्यो अतित एउटा कालो अन्धकारको युगको थियो । त्यो अन्धकारलाई चिर्न कैयौं स्वप्नजिविहरू फिलुङ्गा बनेर निस्केका थिए । अन्धकारबाट मुक्ति लागि प्रतिवद्ध भएर चम्कने तिनै फिलुङ्गामध्येका एकलाई सम्झना गर्दै प्रवासबाट सुदूर अतिततिर गोता खान पुगेको हुँ ।
सानोमा हामी राजेन्द्र राईलाई “हड्ताले दाइ”का नामले सम्बोधन गथ्र्यौं । उहाँ हाम्रो घरदेखि तल्लो टोलमा डेरा गरी बस्नुहुन्थ्यो, गोकुण्डेश्वर माध्यमिक विद्यालयका विद्यार्थीका रूपमा ।
२०३६ सालको समय थियो । मेरा दाजु डम्बर सुब्बा लगायतका राजेन्द्रभन्दा अघिल्लो छिमलका पुस्ताले पनि त्यो पञ्चायत नामको अन्धकार युगको अन्त्यका लागि संगठीत प्रयत्न गर्दै हाम्रो एउटा घरलाई सांस्कृतिक मोर्चा कस्न एउटा अखडा बनाएका थिए । त्यहीं आउँथे भूमिगत नेताहरू आश्रय लिन । त्यसबेलाको म एउटा बालक उहाँहरूको गतिविधिलाई संवेदनशील भएर नियाल्ने गर्थें ।
“हड्ताल” शब्दमा पनि एकलखे लगाएर सम्बोधन गर्दा रिसाउलान् कि जस्तो लाग्थ्यो । तर यस्तो सम्बोधनबाट उहाँमा त गौरव अनुभूति हुँदोरहेछ । अनि हाम्रो गाला चिमोटेर भन्थे, ‘ल तिमीहरू राम्ररी पढ्नु है ।’
‘अनि तिमीहरू हड्ताल गर्न आउँछौं, कसरी राम्ररी पढ्नु नि ?’ मैले त्यतिखेर कक्षामा पढाउने शिक्षक–शिक्षिकाबाहेक कसैप्रति आदरार्थी शब्द प्रयोग गर्न जानेकै थिइनँ ।
“हा.. हा.. हा…”, उहाँ गजबले हाँस्नुहुन्थ्यो । त्यो बेला व्यवस्था ढाल्ने प्रतिवद्धताले उहाँमा गौरवबोध हुँदो रहेछ ।
त्यो बेला म मेरै टोलमा रहेको गणेश प्राथमिक विद्यालयको कक्षा–१ को विद्यार्थी थिएँ । कलेज वा माध्यमिक विद्यालयमा तहमा पढ्ने विद्यार्थी दाइहरू र सेनासँग असाध्यै डर लाग्थ्यो । एकदिन कक्षाकोठाको झ्यालबाट पुलुक्क चिहाएको मात्र केही थियौं १०–१२ जनाको सेनाको समूह हाम्रै स्कूलको आगनको डीलमा आड बनाएर हामीतिरै पो राइफल ताकिरहेका ।
अब खत्तम हुने भो ‘ए धने अब के हुन्छ हँ ?’ हाम्रो टोलदेखि नजिकै आर्मी क्याम्प रहेको र त्यहाँ उहाँको बुवा पनि बहालवाला सैनिक भएकोले मैले सहपाठी धनबहादुर गोलेलाई सोधें । उहाँको जवाफले झन् खङ्ग्रङ्ग बनायो । उहाँले भन्नुभयोे, ‘यिनीहरू हामीलाई मार्न आएको, अब हामी लुक्नुपर्छ ।’
उहाँले सिकाए अनुसार हामी टाउको लुकाएर बेन्चभित्र छि¥यौं । अनि सास रोकेर बस्यौं । बल्ल राइफल ताक्ने सेना गयो भन्ने थाहा पाएपछि बेन्चभित्रबाट हामी निस्क्यौं । लाग्यो, धन्न बाँचियो ।
दाइ विद्यार्थीहरूसँगको डर यस अर्थमा कि उनीहरूले पढ्न दिदैनन् । हाम्रो बालमष्तिष्कमा हड्तालमा उत्रने दाइ विद्यार्थीहरूप्रति यस्तो धारणा थियो, उनीहरू स्कूलमा आउँछन्, पढाउन दिदैनन् । लखेट्छन्, पिट्छन् ।
समय पनि कस्तो परेको, एकातिर स्कूल बन्द गर्दै हिड्ने हड्ताले दाइहरू अर्कातिर हाम्रै स्कूलको आगनमा आएर राइफल ताक्ने सेना ।
“तिमी अलि पछि बुझ्छौ भाइ”, हड्ताले दाइ राजेन्द्र भन्नुहुन्थ्यो ।
२०३६ सालको राजनीतिक आँधी हुरीको समयका यी हड्ताले दाइका कुरा एक वर्षपछि मैले बुझि पनि हालें, जब हाम्रो दुई घरमध्ये एउटा घरमा राजनीतिक र सांस्कृतिक जमघट हुन थाल्यो ।
२०३७ साल अर्थात् म कक्षा–२ मा पढिरहेको बेलामै मैले केही कुरा बुझिहालें, हड्ताले दाइहरू राम्रो कामका लागि हड्तालमा उत्रिएका रहेछन् । हाम्रो स्कूलको डीलमा आड कसेर बन्दुक ताकिरहेका सेना पनि देशको रक्षाका लागि तालिम लिइरहेका रहेछन्, यो पनि मैले बुझिहालें ।
त्यहीं समय मेरा दाजु डम्बर सुब्बाले चिनिया क्रान्तिताकाकी चर्चित बालसेना ल्यू हू लानको संघर्षमा आधारित सचित्र कथा पढ्न दिएको मात्रै होइन, त्यसको सप्रसङ्ग व्याख्या समेत गरिदिएपछि मलाई हड्ताले दाइहरू प्यारो लाग्न थाल्यो, जस्तो कि राजेन्द्र राई ।
उहाँले एक दिन मलाई एउटा एक फूट जति लामो पाइप दिएर भन्नुभयोे, ‘ल भाइ, यो माइक हो, यसमा बोल्दा ठूलो सुनिन्छ, अनि निलो रङमा भोट दिनुहोस्, बहुदललाई जिताउनुहोस भन्दै फुक्दै हिड्नू है ।’
उहाँले जसो भन्नुभयोे, मैले पनि त्यसै गरें ।
त्यो समयको हाम्रो टोलको पक्का घर । खरिदार बखतबीर तामाङको घर थियो, जो भत्किसक्यो। अहिले त्यो घर “हिरेको घर” भनेर चिनिन्छ । हिरे अर्थात् राजु तामाङ, मेरा अन्तरङ्ग बालसखा। राजेन्द्र दाइ त्यसबेला हाम्रो छिमेकको त्यहीं घरमा डेरा गरेर गोकुण्डेश्वर माध्यमिक विद्यालयमा पढ्नुहुन्थ्यो । अनि त्यहीं स्कूलको अखिलको नेता । राजनीतिक आँधीहुरीको त्यो समयदेखि नै म राजेन्द्र राईलाई जान्दछु र बुझ्दछु ।

निरन्तर संघर्षशील
२०४६ सालको जनआन्दोलनताका धनकुटा अखिलको नेतृत्व धर्मराज पौड्यालले सम्हालेका थिए, र राजेन्द्र दाइ चाहिं जिल्ला कमिटीको सदस्य हुनुहुन्थ्यो । २०४७ को परिवर्तन लगतै सम्पन्न अखिलको जिल्ला सम्मेलनले राजेन्द्र दाइलाई अध्यक्ष चुन्यो ।
मैले जतिखेर उहाँलाई भेटें, त्यतिखेर पनि उहाँ विद्यालय तहबाट अखिलको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । त्यसबेला म कक्षा–१ मा पढ्थें । मेरो कलेज जीवन प्रारम्भ हुँदाताका पनि उहाँ विद्यार्थी राजनीतिमै सक्रिय हुनुहुन्थ्यो ।
उहाँले विद्यार्थी राजनीतिबाट विदा लिएपछि अखिल धनकुटाको नेतृत्व लक्ष्मी निरौला (हालः नेपाल सरकारका सहसचिव)ले सम्हाल्दा, त्यो कमिटीमा म सहसचिव थिएँ । यो सामान्य सम्झना मेरो लागि किन महत्वपूर्ण छ भने यी हड्ताले दाइलाई जतिखेर मैले देखें वा भेटेंँ, उहाँले नेतृत्व हस्तान्तरण गरेको जिल्ला कमिटीमा म पनि एउटा पदाधिकारी हुन आइपुगें ।
सानैदेखि राजेन्द्र दाइको प्रभाव ममा थियो । एमालेको पाँचौं महाधिवेशनमा प्रतिनिधि छनौटको लागि दुर्गा लिङ्खाको नेतृत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिको सदस्य थिएँ म । त्यो बेला बहुदलीय जनवाद पक्षधरमध्ये धनकुटाबाट रकम चेम्जोङ र दुर्गा दाहालले मात्रै चुनाव जित्नुभयो, अन्य जित्नेजति सबै नौलो जनवाद अर्थात् सीपी मैनाली पक्षधर । त्यो बेला तत्कालिन सांसद गोपाल गुरागाई र जिल्ला विकास समिति सभापति धर्मराज पौड्यालसमेत महाधिवेशन प्रतिनिधि बन्नबाट चुक्न पुगे । उहाँहरूको कडा प्रतिस्पर्धी हुन आइपुगेका थिए, राजेन्द्र राई । उहाँकै नेतृत्वका अधिकांश पक्षधरहरू महाधिवेशन प्रतिनिधि छनौट भए ।
त्यसबेलाको धेरै आन्तरिक कुरा खोतल्नेतिर कहिल्यै गइनँ, म । मात्र यति हो, त्यो बेला धनकुटा, एमालेमा सत्ता पक्षधर जस्तो देखिन्थे, गोपाल गुरागाईं, रकम चेम्जोङ र धर्मराज पौड्यालहरू, अनि वागीजस्ता चाहिं राजेन्द्र राई ।
राजेन्द्र दाइ किन बागी ? त्यसबेला मेरो मनमा यो कुरा खेलिरह्यो । कसैलाई सोधेको थिइनँ । उहाँको नेतृत्वमा रहेको धनकुटा अखिलको सचिव विनोद लुइटेल (हालः प्राडा विनोद लुइटेल)को एक रात बास प¥यो मेरो घरमा । उहाँ मलाई धनकुटा अखिलको भावी कमिटीमा बस्न सम्झाइ–बुझाइ गर्न आउनुभएको थिए ।
‘किन राजेन्द्र दाइ पार्टीमा सधैंको बागी ?’ मेरो जिज्ञासा ।
लुइटेलजीको जवाफ थियो, ‘मलाई पनि धेरै कुरा त थाहा छैन, तर उहाँले आफूलाई साथीहरूले कहिल्यै अगाडि बढ्न नदिएको भन्दै एक दिन त मेरो कोठामा आएर रोए पनि ।’
सबै कुरा लुइटेलजीबाट प्राप्त हुन सकेन, र मैले कोट्याएर सोधिनँ पनि ।
तर राजेन्द्र राई धनकुटा एमालेको आन्तरिक बागीका रूपमा प्रस्तुत भइरहनुभयो । २०४७ को परिवर्तनपछि भएको धनकुटा एमालेको जिल्ला अधिवेशनमा त उहाँ पार्टी नेतृत्वकै लागि चुनाव नै लड्नुभयो । तर झिनो मतले उहाँ पराजित हुनुभयो ।
धनकुटाको कम्युनिष्ट आन्दोलनका सर्वोच्च नेता गोपाल गुरागाई हुन् । पञ्चायत विरूद्धको आन्दोलनमा राम्रैसँग जेल–नेल खेप्ने धनकुटाका नेतामध्ये राजेन्द्र राई पनि अग्रपंक्तिमा आउँछन् । अहिले गोपाल गुरागाईँ र राजेन्द्र राई एउटै विचार समूहमा रहेर धनकुटाको बामपन्थी राजनीतिक विरासतलाई धानिरहेका छन् ।
माध्यमिक तहकै विद्यार्थी जीवनमा उहाँले तत्कालीन स्ववियु सभापतिमा निर्वाचित भएर जनअनुमोदनको अनुभव बटुल्न भ्याएका थिए । उहाँ पटक–पटक धनकुटाको माटोमा जनअनुमोदित भइसकेका नेता हुन् । संघर्षले बनेको स्पात हुन्, राजेन्द्र राई ।

धनकुटाको कम्युनिष्ट आन्दोलनका सर्वोच्च नेता गोपाल गुरागाई हुन् । पञ्चायत विरूद्धको आन्दोलनमा राम्रैसँग जेल–नेल खेप्ने धनकुटाका नेतामध्ये राजेन्द्र राई पनि अग्रपंक्तिमा आउँछन् । अहिले गोपाल गुरागाईँ र राजेन्द्र राई एउटै विचार समूहमा रहेर धनकुटाको बामपन्थी राजनीतिक विरासतलाई धानिरहेका छन् ।


उहाँले पार्टीमा अन्तरसंघर्ष गर्नुभयोे, तर पार्टी छाडेर अन्यत्र बरालिएनन् । आज उहाँ धनकुटाको मूलधार बनेका छन् । र, पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट ‘म्यान अफ् दी म्याच’ पनि घोषित हुनु भएका छन्।
भूगोल नजान्नेले देश चिन्दैन । संस्कृति नबुझ्नेले सभ्यता जान्दैन र इतिहास नपढ्नेले देश हाक्दैन । राजेन्द्र राई जुझारू राजनीतिक इतिहासमा प्रशस्तै पसिना बगाएको नाम हो । उहाँ धनकुटाको भूँईबाट धुलो टक्टक्याउँदै उठेका राजनीतिक प्राणी हुनुहुन्छ ।
यहाँनेर गौतम बुद्धको एउटा भनाई राख्न सान्दर्भिक हुन्छ ।
एक दिन भूइँमा बसेर उपदेश दिइरहेको बेला गौतम बुद्धलाई उनका एक जना भिक्षुले साधे, ‘बुद्ध, तपाईं किन अग्लो आसनमा बस्नु हुन्न, भूइँमा बसेर किन उपदेश दिनुहुन्छ ?’
बुद्धले सहज जवाफ दिए, ‘भूइँको मान्छे कहिल्यै तल खस्दैन ।’
हो, मैले देखेको राजेन्द्र राई एक जना भूइँमान्छे हुन्, जो कहिल्यै तल खस्दैन ।