अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरेन्द्रनगरलाई आधुनिक सहर बनाउने यामलाल कँडेलको प्रतिवद्धता

वीरेन्द्रनगरलाई आधुनिक सहर बनाउने यामलाल कँडेलको प्रतिवद्धता


सुर्खेत – नेकपा एमालेका स्थायी कमिटी सदस्य यामलाल कँडेलले वीरेन्द्रनगरलाई आधुनिक सहर बनाउने प्रतिवद्धता गर्नुभएको छ । कर्णाली प्रदेश इन्चार्ज रहेका उहाँ सुर्खेत निर्वाचन क्षेत्र नम्बर-१ प्रदेश सभा (१) बाट उम्मेदवार हुनुहुन्छ ।

शुक्रबार आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै कँडेलले कर्णालीको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित र आधुनिक सहरका रुपमा विकास गर्ने बताउनु भयो ।

कँडेलले `समृद्ध नेपाल, सुखी नेपालीको आधार, कर्णाली प्रदेशमा एमालेको सरकार´ र सुशासनका पहरेदार, विकासका योजनाकार कर्णाली आशा, सुर्खेतको भरोसा भन्ने मूल नारासाथ २८ बुँदे प्रतिबद्धता-पत्र सार्वजनिक गर्नुभएको छ ।

उहाँले संविधानको मार्गदर्शन, क्षेत्राधिकार र कर्णाली प्रदेशको आवश्यकता तथा विद्यमान अवस्थालाई मध्यनजर गर्दै जनपक्षीय कानून निर्माण गरी कार्यान्वयन गर्न पहल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित, व्यवस्थित र आधुनिक विकास गरिने, सुर्खेत विमानस्थलको स्तरोन्नति गरी प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका जिल्लामा उडानका लागि आवश्यक व्यवस्था गर्न पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ।

वीरेन्द्रनगर उपत्यकाको चक्रपथ निर्माणलाई पूर्णता दिइने, वीरेन्द्रनगरमा प्रदेशस्तरीय बसपार्कको सम्भाव्यता अध्ययन गरी निर्माणका लागि पहल गर्ने, वीरेन्द्रनगरका सार्वजनिक जग्गाको संरक्षण गर्दै नगरबासीको हित अनुकूल प्रयोग नीति बनाइने उहाँले बताउनु भयो । 

त्यसैगरी वीरेन्द्रनगरको व्यवस्थित विकासका लागि गुरुयोजनाको पुनरावलोकन गरि कार्यान्वयनमा जोड दिइने,  घुस्रा, रहरपुर, पसेनी हुँदै निकास खोलासम्म हुने डुबानलाई समाधान गर्न खोर्के, इत्राम र नेवारे खोलाहरूको मुहानदेखि निकाससम्म तटबन्धन तथा संरक्षणको व्यवस्था मिलाइने पनि बताउनु भयो ।

यस्तै, उपत्यकाकाको खानेपानी संकटको दीर्घकालीन समाधानका लागि पहल गरिने पनि उहाँले बताउनुभयो । त्यसका लागि प्रस्तावित भेरी पम्पिन आयोजना समयमा सम्पन्न गर्न जोड दिने उहाँको वाचा छ। 

प्रतिवद्धता पत्रमा निर्माणधीन प्रादेशिक रंगशालालाई समयमै सम्पन्न गर्न पहल गर्दै अन्य खेल पूर्वाधारको विकास गरिनेछ सरकारी कार्यालय रहेको क्षेत्रलाई प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र (मिनी सिंहदरबार) का रूपमा विकास गरिने,  काँक्रेविहार, देउतीबज्यै, बुलबुले, शहिदपार्क, घण्टाघर, सत्यकाँडा, सिद्धपाइला, रानीघाट र गढीलगायत स्थलहरूलाई विशेष पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा विकास गर्न पहल गरिने उल्लेख छ।

कोहलपुर-सुर्खेत सडकखण्डलाई ‘फोर लेन’ मा स्तरोन्नति, मूलपारी रानीघाट-तेलपानी-भुरीगाउँ सडक निर्माण गर्नुका साथै बामेखोला-भेरीपुल निर्माणाधीन सडकको स्तरोन्नतिमा जोड दिइने उहाँको योजना छ। सुब्बाकुनादेखि कोलडाँडासम्म उपत्यकाको बीच भागमा हटलाइन सडक निर्माणका लागि पहल गर्ने उहाँले जनाउनु भयो ।

प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी सुर्खेत मेडिकल कलेजको पूर्वाधार निर्माण समयमै सम्पन्न गर्न पहल गरिने पनि उहाँले जनाउनु भयो ।

सबै प्रकारका स्वास्थ्य संस्थालाई जनशक्ति, औषधि, उपकरण तथा भौतिक पूर्वाधारमा सुविधा सम्पन्न बनाइने उहाँको योजना छ।