अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हामीलाई अरुको एक इन्च जमिन चाहिँदैन, हाम्रो पनि छाड्दैनौं : अध्यक्ष ओली

हामीलाई अरुको एक इन्च जमिन चाहिँदैन, हाम्रो पनि छाड्दैनौं : अध्यक्ष ओली


दार्चुला – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भूभागको एक इन्च जमिन पनि नछाड्ने बताउनु भएको छ ।

आज दार्चुलाबाट एमालेको चुनावी सभालाई सुरु गर्दै उहाँले आफूलाई ठूलो राष्ट्र ठान्ने भारतको चित्त भने सानो देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो भूमि न अरूलाई एक इन्च छोड्छौ, न अरूको एक इन्च जमीन माग्छौँ, हाम्रो नेपालको भूमि मिच्न कदापि दिँदैनौं । राष्ट्रियताको प्रश्नमा आफ्नो एक इन्च जमिन पनि पनि छाड्न मिल्दैन ।’

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले संसदबाट नक्सा जारी गरिसकेका छौँ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौँ । आफ्नो अतिक्रमित भूमि फिर्ता लिन्छौं । चुनाव घोषणापत्रमा जारी गर्दा २० वटा ग्यारेन्टी हामीले गरेका छौँ ।’

‘चीनसम्म जाने ७०/७५ किलोमिटर चट्टान हामीले फोड्नुपर्ने छ तिंकर भञ्याङको लागि भारतले हाम्रो भूभागबाट अनावश्यक ढंगले बाटो बनाएको छ । हामी आफैं बनाउने थियौँ । तर, भारतले आफूखुशी बनाएर बेकारको झमेला निकाल्यो’ ओलीले भन्नुभयो, ‘म भारतलाई अहिले पनि भन्न चाहन्छु । नदी वरतिर सर्‍यो भनेर सीमा सर्ने होइन । पहिले नदी भएको ठाउँमा भारतले बाँध लगाउने होइन । खोलो उता सर्यो कि सीमाना सारिहाल्ने । विशाल भारत छ तर, थोरै भएपनि सीमाना सार्छ । यो सुहाउँदैन।’

भारतले सीमामा गरेको अतिक्रमणलाई नेपाली जनताले थिचोमिचोका रुपमा लिइरहेको उहाँले बताउनु भयो । आफूले भारतका शीर्ष नेताहरुलाई भनिरहेको समेत बताउनु भयाे । भारत भ्रमणमा जाँदा भारत भ्रमणमा जाँदा दिल्ली र उत्ताराखण्डको सहमतिमा झोलुङ्गे पुल बनाएको बताउनु भयो । दार्चुला र धार्चुलामा पक्की पुल बनाउने उद्घोष गर्नुभयो ।

एक अर्को प्रसंगमा उहाँले लिपुलेक र लिम्पियाधुराको कुरा गर्दा तत्कालिन एमालेका नेता स्व. प्रेमसिंह धामीको पनि स्मरण गर्नुभएको थियो । उहाँले दार्चुलाको समस्या आफूले बुझेको पनि सुनाउनुभयो ।