अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनकुटामा चुनावी जोड-घटाउ, पल्लाभरी बनाउँदै एमाले उम्मेदवार राजेन्द्र राई

धनकुटामा चुनावी जोड-घटाउ, पल्लाभरी बनाउँदै एमाले उम्मेदवार राजेन्द्र राई


धनकुटा – यतिवेला धनकुटाको चुनावी माहोल तातिएको छ । चिसो बढ्दै गएपनि धनकुटामा चुनावी माहोल तातिएको छ । मंसीर ४ गते नजिकिएसँगै कस्ले जित्छ भनेर अड्कलबाजी गर्ने समूह समेत बढेका छन् ।
धनकुटामा यसपटकको निर्वाचनमा पुरानै अनुहार र पार्टीबीच कडा प्रतिस्पर्धी हुने देखिन्छ । जिल्लामा करीब ४९ प्रतिशत एकल मतदाता रहेको एमालेलाई गठबन्धन फुटाएसँगै सहज बन्दै गएको छ । माओवादीमा पोलिटब्युरो सदस्य हेमराज भण्डारीको नेतृत्वमा ठूलो समूहको विद्रोहपछि ढलमलिएको गठबन्धनबाट जसपा बाहिर गएपछि पराजयको संघारमा पुगेको छ।
धनकुटामा एमालेको तर्फबाट केन्द्रीय सदस्य राजेन्द्र राई प्रतिनिधिसभा सदस्यको लागि चुनावी मैदानमा उत्रिनु भएको छ । २०७४ सालको निर्वाचनमा सांसद निर्वाचित हुनुभएका राईले आफूले गरेका विकास निर्माणका काम र जनताको सेवालाई चुनावी एजेण्डा बनाउनु भएको छ । उहाँ सांसद भएपछि जिल्ला घुमिरहने नेतामा पर्नुहुन्छ । यही कारण जित सुनिश्चित रहेको राईको दावी छ ।
राईसँग प्रतिस्पर्धा गर्न गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा मैदानमा हुनुहुन्छ । पुराना कांग्रेसका नेतालाई पछि पर्दै राप्रपाबाट आएका थापाले केन्द्रीय नेताको पहुँचको आधारमा टिकट पाउनु भएको हो । उहाँले आफूले गरेका कामभन्दा पनि स्वर्गीय बुबा सुर्यबहादुर थापाको नाम र कामलाई चुनावी एजेण्डा बनाइरहेका छन् । गठबन्धन भएका जित हुने दावी थापाको रहेको छ ।

धनकुटामा राई र थापाबीच यो तेस्रो भिडिन्त हो । २०७० सालको निर्वाचनमा राप्रपाबाट बुबा थापाको पहलमा झिनो मतान्तरले विजयी हुनुभएका थापा २०७० सालमा पराजित हुनु भएको थियो । कांग्रेस, जसपा र राप्रपाको गठबन्धनबाट उम्मेदवार बनेका थापालाई एमाले उम्मेदवार राईले करीब ११ हजार मतान्तरले हराएका थिए ।
यसपटक थापासँग कांग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादीको तालमेल र साथ रहेको छ । एमाले एक्लै चुनावी मैदानमा रहेपनि जसपाको मत सुर्य चिन्हमा दिने सहमति भएको छ ।
यी दुई उम्मेदवारको भिडन्तमा तेस्रो शक्तिको रूपमा स्वतन्त्र उम्मेदवारी दिएका माआवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीले टक्कर दिनुभएको छ । उहाँ जिल्लामा युवा र विकास एजेण्डा ल्याउन सक्ने नेताको रूपमा छवि बनाएकाले स्वतन्त्र मतदाताको आकर्षण उहाँसँग देखिएको छ । उहाँलाई माओवादी केन्द्रका मतदाता बाहेक एमाले, कांग्रेस, जसपा, नेकपा एस र केही जातीय मत समेत जाने अवस्था रहेको छ ।

यससँगै राप्रपाबाट कुमारबहादुर थापा चुनावी मैदानमा हुनुहुन्छ । उहाँ सुर्यबादुर थापाको सवै चुनावको कमाण्डर थिए । तर सुर्यबहादुर थापाको मृत्युपछि छोरा सुनिलबहादुरले कांग्रेस रोजेका उहाँले राप्रपा पुर्नगठन गरेर चुनावी अभियानमा जुटेका छन्।
हेमराज भण्डारी र कुमारबहादुर थापाले काट्ने ९० प्रतिसत मत एमालेका उम्मेदवारलाई नजाने मत हो । यो मत कांग्रेस उम्मेदवार थापालाई जाने अवस्थामा यी दुईजनाको उम्मेदवारीले धनकुटामा एमालेलाई सहज देखिएको छ ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतको आधारमा धनकुटामा एमालेको ३६ हजार ३३६ मत रहेको छ । कांग्रेसको २८ हजार १८२, माओवादी केन्द्रको ५ हजार ४५८, जसपाको २ हजार २९२ र नेकपा एसको १ हजार ७२८ मत देखिएको छ । राप्रपाले धनकुटाको स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरेको थिए ।

जसपा गठबन्धनबाट बाहिरिएकाले गठबन्धन एमालेभन्दा एक हजार मतले पछि परेको छ । यसमा स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले माओवादी केन्द्रको आधा मतमात्रै प्राप्त गरे गठबन्धन ४ हजारभन्दा बढी मतले पछि परेको अवस्था रहेको छ । योसँगै राप्रपाका उम्मेदवार कुमारबहादुर थापाले प्राप्त गर्ने मत पनि गठबन्धनकै मत हो । एमालेलाई कहिलै नआउने यो मत पुराना राप्रपाका कार्यकर्ताको हो । जुन मत करीब तीन हजारको हाराहारी रहेको छ ।