अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिलोत्तमामा प्रदेशस्तरीय मेडिकल कलेजको पूर्वाधार चाडै निर्माण हुन्छ : विष्णु पौडेल

तिलोत्तमामा प्रदेशस्तरीय मेडिकल कलेजको पूर्वाधार चाडै निर्माण हुन्छ : विष्णु पौडेल


बुटवल – रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले तिलोत्तमामा लुम्बिनी प्रदेशस्तरीय मेडिकल कलेजको पूर्वाधार निर्माण छिट्टै सुरु हुने बताउनुभएको छ ।

तिलोत्तमा वडा नम्बर १ मा भएको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको कार्य अघि बढेको बताउँदै छिट्टै पुर्वधार निर्माणको काम सुरु हुने बताउनुभयो ।

पूर्वाधार निर्माणको काम सुरु भएको केही समयमा मेडिकल कलेज सञ्चालनमा आउने बताउँदै उहाँले त्यसपछि तिलोत्तमा १ का वासीहरूको मुहार बदल्ने बताउनुभयो । मेडिकल कलेज निर्माणसँगै सडक, पूर्वाधार निर्माण हुने र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना पनि सो क्षेत्रमा हुने उहाँको भनाइ छ । त्यसका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको उहाँले बताउनुभयो ।

तत्कालीन समयमै वरिष्ठ चिकित्सक डा.सरोज ओझाको संयोजकत्वमा गठित प्रारम्भिक अध्ययन समितिले प्रस्ताव गरिएको जग्गा कलेज स्थापनाका लागि उपयुक्त रहेको ठहर गर्दै शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । त्यसपछि तिलोत्ततमा मेडिकल कलेज स्थापना कार्य सुरु भएको थियो । अहिले सरकारी मेडिकल कलेजको डिपीआर तयार भइसकेको बताउँदै नेता पौडेलले मेडिकल कलेज स्थापनापछि तिलोत्तमाले नै स्वास्थ्य क्षेत्रमा फड्को मार्ने बताउनुभयो ।

तिलोत्तमा नगरपालिकाका वडा नम्बर १ र ८ मा पर्ने शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको दुई सय बिघा जग्गामा मेडिकल कलेज बन्नेछ । गुरुयोजनाअनुसार १ हजार बेडको अस्पताल बन्नेछ।

सुरुमा तीन सय बेडको हुने र क्रमश एक हजार बेडको अस्पताल बन्नेछ । बुटवल मेडिकल कलेजको ८ चैत २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तिलोत्तमामा कार्यालयको उदघाटन गर्नुभएको थियो । 

रुपन्देही क्षेत्र नं।२ ‘१’ का उम्मेदवार लिला गिरीसहित घरदैलो अभियानमा पुग्नुभएका पौडेललाई मतदाताले नाली निर्माण, डुवान रोक्न र सडक पूर्वाधार निर्माण गर्न आग्रह गरेका थिए ।

सो क्रममा पौडेलले तिलोत्तमा १ मा नयाँ खेल मैदान सिद्धार्थ खेलमैदान आवश्यक रहेको जानकारी आफूलाई आएको भन्दै नयाँ खेल मैदान निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले डुवानको समस्या समधान छिटो हुने बताउँदै सडक निर्माणको कार्य टेण्डर प्रक्रिया भइसकेको र अब निर्माण छिट्टै हुने बताउनुभयो ।

सोही घरदैलो कार्यक्रममा रुपन्देही क्षेत्र नं।१ ‘१’ का उम्मेदवार लिला गिरीले शान्ति र विकासका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको दिनको उज्यालो जतिकै छर्लङ रहेको बताउनुभयो ।

केन्द्रमा र प्रदेशमा एमालेको सरकार  निर्माण गरी जनता र राष्ट्रको पक्षमा सकारात्मक कार्य एमालेले गर्ने बताउनुभयो । साथै उहाँले तिलोत्तमालाई पर्यटकीय हवको रुपमा विकास गर्ने एमालेको योजना रहेको बताउनुभयो ।