कञ्चनपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार देश बनाउने वा विकास गर्नेभन्दा पनि ‘टालाटुली बाटुली, कति राम्री कठपुतली’ भएको आरोप लगाउनु भएको छ ।
आज महेन्द्रनगरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनसँग कुनै दृष्टिकोण र भिजन नभएका कारण देशको विकास र सुशासनका लागि एमाले एक्लैले बहुमत ल्याउनुपर्ने बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘५/६ नेता मिलेका छन्, ङ्यार ङ्यार गरेका छन्, कुनै गन्तव्य छैन, बाटो छैन, काले कालेर मिलेर खाउ भाले भनेजस्तै भएको छ ।५/६ तिर फर्केका षडमुखाहरु देश ठुग्न लागेका छन् ।’
आफ्नो पालामा देश लुटन नदिएका कारण प्रचण्ड कांग्रेसको पिंडी पालीमा बसेको आरोप लगाउनु भयाे । उहाँले भन्नुभयो, ‘छोरी-बुहारी सबै बोकेर प्रचण्ड कांग्रेसको पिंडी पालीमा बस्न जानुभयो । छोरी, बुहारी, ज्वाइँ र भाइ भतिजाका लागि सहिद परिवारमाथि सौदाबाजी गर्नुभयो ।’
अध्यक्ष ओलीले कांग्रेसमा पनि प्रधानमन्त्री र गृहमन्त्रीका श्रीमतीले मात्रै समानुपातिकमा ठाउँ पाउने तर इमान्दार कार्यकर्ताले ठाउँ नपाउने अवस्था आएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको कांग्रेसका नेतृत्वबाट केही हुँदैन, कांग्रेस प्रचण्डपथमा गएको छ ।’
दार्चुला र बैतडीको चुनावीसभालाई सम्बोधन गरेर अध्यक्ष ओली महेन्द्रनगर पुग्नु भएक हो । अध्यक्ष ओलीसँगै एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पनि सभालाई सम्बोधन गर्नुभयो ।






प्रतिक्रिया