काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन स्वार्थको गठजोड भएको बताउनु भएको छ ।
आज आयोजित प्रवासी नेपाली मञ्च, साउदी अरबको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलहरूले बनाएको बाम लोकतान्त्रिक गठबन्धन स्वार्थहरूको गठजोड मात्रै भएको बताउनुभयो।
अध्यक्ष ओलीले गठबन्धन सरकारलाई कठपुतलीको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘टालाटुली बाटुली, कति राम्रो कठपुतली यो सरकार ।’
उहाँले सत्ता गठबन्धन सरकार भिजनलेस खन्चुवाहरूको टालाटुली बटुली मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन सरकारको उदेश्य भनेको देश लुटने हो । स्वार्थहरूले बनेको, स्वाभिमान नभएको कठपुतली सरकार हो ।’
मन र मस्तिस्कबाट देशभक्ति हटेपछि यस्तो प्रकारको सरकार बन्ने उहाँको भनाइ छ । अहिलेको गठबन्धनलाई अदृश्य शक्तिले पम्पिङ गरेको र गठबन्धनको मुख ६ तिर फर्केको उहाँले बताउनु भयो । सोही कारण, मंसिर ४ मा यसबारे निर्णय गर्नुपर्ने भएकाले त्यसको प्रतिक्षामा रहेको समेत बताउनुभयो ।
परमादेशको गठबन्धनले यदी जनादेश पनि पाए भने देशको भविश्य अन्धकार हुने ठोकुवा गर्नुभयो । उहाँले हाम्रो जस्तो प्रणालीमा एउटा मात्र पार्टीले बहुमत ल्याउनु भनेको सजिलो छैन । तर, त्यही असजिलो काम एमालेले फत्ते गर्छ र असाधारण काम फत्ते गर्ने पार्टी भनेकै एमाले हो भन्नुभयो ।






प्रतिक्रिया