काठमाडौं-नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नं ८ श्रमिक भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
एमाले पोलिटब्युरो सदस्य तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा श्रेष्ठले आफ्नो विचार राख्दै योगदानमा आधारित सामाजिक सुरक्षाले सम्पूर्ण श्रमिकको हित गर्ने भएकोले सबै श्रमिकलाई यसमा समेट्न बताउनुभयो ।
उहाँले मर्यादित काम, श्रमको सम्मान,उचित ज्यालाका निमित्त एमाले सरकार आवश्यक रहेको र श्रमजीवी वर्गको पार्टी एमाले रहेकाले श्रमिकका हितका कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनका लागि पनि एमालेका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउन आव्हान गर्दै आआफ्नो स्थानमा डटेर लाग्न निर्देशन दिनुभयो । आगामी निर्वाचन देशको भविष्यसँग जोडिएको तथा देशको विकास र समृद्धिको लागि पार्टीको गन्तव्यमा अगाडि बढ्नका लागि ज्यादै महत्त्वपूर्ण अवसर भएकाले पार्टीका सबै श्रमिक सदस्यहरूलाई एकताबद्ध भई निर्वाचनमा खट्न आग्रह गर्नुभयो ।
कार्यक्रममा काठमाडौं क्षेत्र नं ८ संघीय उम्मेदवार शिबसुन्दर राजवैद्य, प्रदेश क उम्मेदवार राजेश शाक्य, प्रदेश ख उम्मेदवार निमा घ्याम्चो लामा, मजदुर विशेष जिल्ला कमिटी अध्यक्ष जितेन्द्र श्रेष्ठ, प्रदेश समानुपातिक उम्मेदवार गिता थिङ लगायतले सुर्य ध्वजाबाहक उम्मेदवारलाई विजयी बनाउनपर्ने कुरामा जोड दिँदै एमाले सरकारको पालामा भएका विकास निर्माणका कामहरूको चर्चा गर्दै बाँकी कामहरूलाई पूर्णता दिन र देशलाई दुर्घटनाबाट बचाउन पनि एमालेको दुईतिहाई सरकार आवश्यक रहेको स्पष्ट पारे।
भेलाले मजदुर विशेष जिल्ला कमिटी सदस्य सूजना जोशीको संयोजकत्वमा १०१ सदस्यीय श्रमिक परिचालन कमिटी गठन गरेको छ भने कमिटीले भुगोलमा रहेका निर्वाचन परिचालन कमिटीको समन्वयमा श्रमिकहरूलाई परिचालन गर्नेछ । प्रत्येक बुथमा श्रमिक स्वयंसेवक खटाइनेछ।
मजदुर विशेष जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल महासचिव सुजना जोशीको अध्यक्षतामा कार्यक्रमको सम्पन्न भएको थियो।






प्रतिक्रिया