काठमाडौँ – नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले चुच्चे नक्साको भूमि फिर्ता गर्न र भारतीयलाई नागरिकता दिनबाट रोक्नको लागि एमालेलाई बहुमत दिनुपर्ने बताउनुभएको छ । एमाले जनताको सपना बोक्ने पार्टी भएको बताउनुहुँदै उहाँले एमालेलाई एकल बहुमत दिन आह्वान गर्नुभयो ।
नेकपा एमाले निर्वाचन परिचालन कमिटी रामेछापले आइतबार उमाकुण्डको च्यादलुमा आयोजित कार्यक्रममा एमाले राजनीतिक स्थायित्वको लागि भोट माग्न आएको बताउनुभयो । ‘एमालेले उठान गरेका समृद्धिका योजना पूरा गर्न एमालेलाई एकल बहुमत दिनुस्’, ढुङ्गेलले भन्नुभयो ।
आर्थिक विकास र समृद्धिको लागि पनि एमालेकै जीत जरुरी रहेको ढुङ्गेलले दाबी गर्नुभयो । त्यस्तै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको मुद्दालाई स्थापित गर्न पनि एमाले आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो ।
चुच्चे नक्साको भूमि फिर्ता गर्न र भारतीयलाई नागरिकता दिनबाट रोक्नको लागि पनि एमालेकै सरकार आवश्यक रहेको उहाँको भनाइ छ । विदेश जाने युवालाई देशमा नै बस्ने वातावरण बनाउन एमाले सरकारमा पुग्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
कांग्रेसले विश्वेश्वरप्रसाद कोइरालाले बोकेको आदर्श छाडिसकेको ढुङ्गेलले टिप्पणी गर्नुभयो । कांग्रेस पार्टी बीपीको आदर्शको नियन्त्रणमा नभई अरू कसैको कब्जामा परिसकेको उहाँले दाबी गर्नुभयो ।






प्रतिक्रिया