अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीमा गहुँको बीउ अभाव

कैलालीमा गहुँको बीउ अभाव


कैलाली-कैलालीको भजनी नगरपालिकाका बाढीपीडित किसानले हिउँदे गहुँखेती गर्न बीउ अभाव रहेको गुनासो गरेका छन् । बाढीपीडितले बाढीले भण्डारण गरेको बीउ नष्ट गरेकाले खेती गर्ने समयमा बीउ अभाव भएको गुनासो गरेका हुन् ।

भजनी–८ सोनाहाफाटा फागुराम चौधरी बाढीले घरमा भएमा सबै अन्न नष्ट गरेकाले यतिखेर खेती गर्ने बीउ अभाव भएको बताउनुभयो । “बाढीले खेतको धान नष्ट ग¥यो, खेतमा भएको धानमात्र होइन, घरमा भण्डारण गरी राखेको खाद्यान्न र बीउसमेत नष्ट गरेकाले यतिखेर बीउ अभाव छ”, उहाँले भन्नुभयो, “एकातिर खाद्यान्न अभाव छ । अर्कोतर्फ खेती गरौँ भने बीउ, मल छैन । यहाँ सबैलाई समस्या छ ।”

उहाँ बर्खे खेती नबचेकाहरु हिउँदे खेतीको भरमा बाँच्ने भए पनि यतिखेर खेती गर्नका लागि बीउ, मल र खेत जोताइ गर्न अर्थाभाव भएकाले समस्या भएको बताउनुहुन्छ । “सबै किसानलाई यस्तै समस्या छ । खेत जोताइ गर्न रकम चाहियो, धानबाली बेचेर जोहो गर्नेहरुले यस वर्ष बेच्न पाएनन”, उहाँ भन्नुहुन्छ, “अब बीउ, मल सहयोग पाए खेती गर्न सकिएला, नभए गाह्रो छ ।”

किसान गर्भुलाल चौधरी पनि गहुँको बीउ नभएकाले खेती गर्न समस्या भएको बताउनुहुनछ । “हामीलाई निकै समस्या छ । यतिखेर गहुँखेती गर्नका लागि बीउ, मल चाहियो”, उहाँ भन्नुहुन्छ, “स्थानीय सरकारले सहयोग गर्छ कि भनेर आशामा बसेका छौँ । यतिखेर हामीलाई बीउ, मल सहयोग गरेमा हामी भोकै बस्नु पर्दैन ।”

भजनीकै सीता चौधरीको तीन बिघामा लगाएको धानबाली बाढीले नष्ट ग¥यो । गहुँखेतीका लागि भण्डारण गरेको डेढ क्विन्टल बीउसमेत बाढीले बगायो । “गहुँ, मसुरो, तोरीखेतीका लागि राखिएका सबै बीउ नष्ट भयो, अहिले बीउ किन्न सक्ने अवस्थासमेत छैन”, उहाँ गुनासो गर्नुहुन्छ, “किनेर खेती गर्न सकिँदैन, सहयोग पाए खेती गर्ने तयारी छ, नभए बाँझै राख्छौँ ।”

कैलालीको भजनी नगरपालिकाले दुई सय ७६ क्विन्टल गहुँको बीउ वितरणका लागि खरिद प्रक्रिया सुरु गरेको जनाएको छ । नगरपालिका कृषि शाखा प्रमुख हरिलाल रेग्मीले नगरपालिकाले कृषि समूह र किसानलाई बीउ वितरण गर्ने बताउनुभयो । “बीउ आवश्यक भएका किसान तथा समूहलाई माग गर्न भनी नगरपालिकाले सूचना जारी गरेको छ”, उहाँले भन्नुभयो, “यो नगरपालिकाको सभाले छुट्याएको रकम हो । बीउ वितरण गर्दा बाढीपीडितलाई प्राथमिकता दिनेछौँ, यसमा सबै किसान समेटिनेछन् ।”

नगरपालिकाले गहुँसँगै प्याजको बीउ, च्याउको बीउसमेत वितरण गर्ने कार्यक्रम छ । “कृषितर्फ बाढीले पु¥याएको क्षतिको तथ्याङ्क वडाबाट इन्ट्री भएर आउँदैछ । माछापालक किसानलाई कार्यपालिकाले निर्णय गरेर माछाका भुरा दिने निर्णय गरेको छ”, उहाँ भन्नुहुन्छ, “बाँकी किसानका बारेमा कार्यपालिकाले निर्णय गरेपछि कार्यक्रम अघि बढ्नेछन् । अहिले बाढीपीडित किसानकै लागि छुट्टै राहत केही छैन ।” असोजमा पटक–पटक आएको बाढीले भजनीमा नौ हजार ९० परिवार प्रभावित भएका छन् ।