अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली राजमार्गमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

कर्णाली राजमार्गमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते


कालीकोट – कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा-५ खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् ।

मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुवाहक जिप मंगलबार बिहान पौने १२ बजे कर्णाली राजमार्गको खल्लागाड पुल नजिकै दुर्घटनाग्रस्त हुँदा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुर्दशन सेजुवालको मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बताउनु भयो ।

उहाँका अनुसार ७ जना घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । अक्कलको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई जनालाई उपचारका लागि जुम्ला लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा हुम्लाका २२ वर्षीय केशरी शाही, र २४ वर्षीय उज्जवल सिंह, मुगुका १७ वर्षीय धिरज बुढा, १६ वर्षीय गोपीचन्द्र बुढा, ३१ वर्षीय सन्तोष शाही, मुगु घर भएका गाडी चालक ३५ वर्षीय प्रेमसिंह बडुवाल छन् भने अन्य एक जनाको नाम खुल्न सकेको छैन ।

जिप दुर्घटनाको कारण यकिन हुन नसके पनि तीव्र गतिका कारण गाडी अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।