अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखामा गठबन्धनबाट आचारसंहिता उल्लंघनः मतदातालाई मन्त्रीको राहतको प्रलोभन

दोलखामा गठबन्धनबाट आचारसंहिता उल्लंघनः मतदातालाई मन्त्रीको राहतको प्रलोभन


दोलखा – सत्ता गठबन्धन दलहरूले श्रृंखलाबद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा एमाले दोलखाले निर्वाचन कार्यालयको ध्यानाकर्षण गराएको छ ।
आज बुधबार दोलखा एमालेका कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरको नेतृत्वमा गएको टोलीले चरिकोटस्थित मुख्य निर्वाचन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको छ। दोलखामा सत्तारुढ दलका नेता र उम्मेदवारबाटै आचारसंहिता व्यापक उल्लंघन भएको भन्दै एमालेले गम्भीर आपत्ति जनाएको छ ।
आचारसंहिता विपरीत बागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री तथा माओवादी नेता विशाल खड्काले स्वास्थ्य शिविर कार्यक्रममा सहभागी भई राहत सामग्री समेत वितरण गरी आचारसंहिताको धज्जी उडाएकोबारे एमालेले प्रमाणसहित निर्वाचन कार्यालयको ध्यानाकर्षण गराएको छ ।


गठबन्धनका तर्फबाट उम्मेदवारहरूको फोटो र निर्वाचन चिह्न अंकित पोस्टर जनताको छातीमा टाँस्न लगाएको, सार्वजनिक स्थलहरुमा व्यानर राख्ने, गेट निर्माण गरी प्रचार सामग्री झुण्ड्याउने, पार्टीको लोगो भएको प्रचार सामग्रीहरु वितरण गर्ने, उम्मेदवारको फोटो अंकित लकेट वितरण गर्ने लगायत कार्यहरु गरी निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन गरेको एमालेको भनाइ छ ।

आचारसंहिता प्रतिकुल हुने गतिविधिमाथि रोक लगाइ तत्काल एक्सनमा गएर कारबाही गर्न एमालेले निर्वाचन कार्यालयसँग अनुरोध गरेको छ । यदि निर्वाचन कार्यालयले एक्सन लिन नसक्ने अवस्था देखिए एमालेले पनि त्यसै गर्नुपर्ने र एमालेसँग त्यो स्रोतसाधन र क्षमता भएको जानकारी समेत दिएको छ ।
‘दोलखामा गठबन्धनबाट आचारसंहिताको व्यापक उल्लंघन भएको छ । यसमा निर्वाचन कार्यालय मुकदर्शकजस्तो देखिएको छ,’ दोलखा एमालेका कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरले भन्नुभयो, ‘यदि उनीहरूको गतिविधिमाथि रोक लगाइ आयोगले कारबाही गर्दैन भने एमाले पनि त्यही प्रकृतिको गतिविधिमा उत्रिन बाध्य हुनेछ । यद्यपि, हामी त्यसो गर्न चाहिरहेका छैनौँ । गर्नैपदाए एमालेसँग पनि त्यो स्रोतसाधन र क्षमता छ ।’
आचारसंहिताविपरीतका गतिविधि रोक लगाउन जिल्ला निर्वाचन कार्यालयले सक्रियता नदेखाए एमाले र एमालेका कार्याकर्ता आफैले त्यसलाई नियन्त्रण गर्ने र त्यसबाट उत्पन्न परिस्थितिबारे आयोगको कार्यालय जवाफदेशी हुनुपर्ने चेतावनी मानन्धरले दिनुभएको छ ।
वनमन्त्री खड्काले जिरी नगरपालिका–८ राम्बोलेमा कात्तिक २० गते आयोजना गरिएको संस्कृति जर्गेनाका लागि धामी झाँक्री सम्मान कार्यक्रम र जिरी आपतकालीन राहत कोष वितरण र स्वास्थ्य शिविर कार्यक्रममा सहभागी भई गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरी राहत समेत वितरण गरेपनि एमाले थप आक्रोशित भएको छ ।