धादिङ – पेशा इन्जिनियर । रूची राजनीति र समाज सेवा । गजेन्द्रप्रसाद थपलिया इन्जिनियर क्षेत्रका मानिसहरूले त सुनेजानेको नाम हो । त्यो भन्दा समुदायका लागि अलिवर्ष पहिलेसम्म नौलो नाम नै थियो । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला उहाँको विकास विज्ञको रूपमा नियुक्त भएपछि थपलीयालाई गैह्र इन्जिनियर क्षेत्रका मान्छेले पनि चिने। जाने ।
सरल स्वभाव । जानेका कुरा बोल्ने । नजानेका कुरा सुन्ने । सादा जीवन शैली । जनताका काम बिना ढिलासुस्ती सम्पन्न गर्न प्रयास गरिरहने । निर्माण क्षेत्र गुणस्तरीय र अपजस रहितहोस भन्ने चाहना । गजेन्द्र थपलियाको परिचय नै यही हो ।
इन्जिनियरिङको माध्यमबाट सयौं घरको डिजाइन, नक्शा तयार गर्नुभएका थपलिया यसपाली धादिङको क्षेत्र नम्बर १ प्रदेश २ को विकासको खाका कोर्न तयार हुनुहुन्छ। नेकपा एमालेले थपलियालाई आफ्नो इन्जिनियरिङ सीप सिद्धलेक, गजुरी र बेनीघाट रोराङ क्षेत्रको विकासमा लगानी गर्न पठाएको छ । ‘पार्टीले मलाई उम्मेद्वार बनाएर यो क्षेत्रमा पठाएको छ । मेरो इन्जिनियरिङ सीप म यस क्षेत्रको विकासको खाका कोर्नमा उपयोग गर्छु’ बुबाको काजक्रियामा बस्नुभएका थपलियाले भन्नुभयो, ‘म सँग यहाँको विकासका लागि खास योजनाहरू पनि छन् । अहिलेसम्म राजनीतिक आँखाले मात्र विकासलाई हेरियो तर म इन्जिनियरिङ र राजनीतिका दुवै आँखाले विकासलाई हेर्नेछु ।’
थपलियासँग पढेका धेरै साथीहरू निजामती क्षेत्रको इन्जिनियरिङ गर्दैछन् । तर थपलियाले निजामती क्षेत्र नरोजी राजनीति मार्फत नै देश विकासको नयाँ खाका कोर्न अडान लिएर यसलाई निरन्तरता दिनुभयो । उहाँको लगाव र क्षमतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ र २०७४ मा प्रधानमन्त्री भएका बेला आफ्नो सचिवालय मार्फत उपयोग गर्नुभयो । त्यसबेला थपलियालाई विकास विज्ञको जिम्मेवारी दिइएको थियो ।
यस जिम्मेवारीमा रहँदा थपलियाले नेपालका राष्ट्रिय गौरवका आयोजनालाई नजिकबाट हेर्ने र बुझ्ने मौका पाउनुभयो । कामको गति, गुणस्तर,कामका ढिलाई हुनाको कारण आदि कुरा पत्ता लगाउन थपलिया हरेक योजनको स्थलगत भ्रमणमा जानुभएको छ। ‘राष्ट्रिय गौरवका अतिरिक्ति साना योजनाहरूलाई पनि मैले प्रत्यक्ष रूपमा अवलोकन र अनुगमन गरेको छु’ थपलिया भन्नुहुन्छ, ‘हाम्रो विकासका बाधक के–के हुन् भनेर मैले पहिचान गरेको छु । तिनलाई हटाउने विधि पनि पत्ता लगाएको छु । मेरो त्यो फाइण्डिंग्सलाई आफैं जनप्रतिनिधि भएर कार्यन्वयन गर्न चाहन्छु ।’
कात्तिक १६ को दु:खान्त
असोज २३ गते उम्मेद्वारी दर्ता गरेपछि थपलिया चुनावी प्रचारमा खटिनु भएको थियो । घरमा बुबा शिवप्रसादको स्वास्थ्यमा सामान्य समास्या थियो । तर त्यसदिन उहाँ तन्दुरूस्त नै हुनुहुन्थ्यो । बिहान ७ बजेतिर घरबाट हिड्ने बेलामा आमाले ‘बेलुका अलि चाडै आउँनु है’ भन्नुभएको थियो । तर बिहान १० बजेतिर अप्रिय खबरसहित घरबाट फोन आयो । ‘म त्यसबेला सिद्धलेकको झारलाङवीमा चुनावी घरदैलोमा थिएँ’ थपलिया भन्नुहुन्छ ।

बुबाको निधन भएपछि परम्परा अनुसार उहाँ १३ दिनसम्म घर बाहिर निस्कन पाउनुभएको छैन । आज नवौं दिन जारी छ । अब चुनाव आउन पनि नौ दिन मात्र बाँकी छ । १३ दिनसम्म काजक्रियाको काम सकेर निस्कदा निर्वाचन प्रचार गर्न नपाइने समय ‘मौन अवधी’ सुरू हुन लागेको हुनेछ । ‘म मतदाताको घरघरमा जाने कुरा बुबाको निधनका कारण सम्भव भएन’ थपलिया भन्नुहुन्छ, ‘काजक्रियामा बसिरहँदा मैले एकै साथ दुईवटा कुरा मिस गरिरहेको छु । एउटा मेरो बुबालाई दोस्रो मेरा मतदातालाई। मतदातालाई त म काजक्रिया सकेपछि भेट्छु तर बुबालाई भेट्न सक्दिनँ ।’
थपलियाको क्षेत्रका निर्वाचन कमाण्डर जिफन्टका महासचिव लक्ष्मण शर्मा हुनुहुन्छ। शर्मा अनुसार गजेन्द्र थपलियाको नाम नसुनेका कतिपय मतदाताले उहाँ काजक्रियामा बसेपछि नाम कण्ठ गरेका छन् । थपलियाका नामको पर्चा, पोष्टर घर–घरमा पुगेको छ । प्रत्येक वडामा विभिन्न समूह बनाएर प्रचार सामग्री र उम्मेद्वारको तस्वीर घरघरमा पु¥याउने क्रम जारी छ । थपलियाका सारथीहरू झोला बोकेर जनतालाई भेट्न घर र खेतमा पुगेका छन् । थपलियाको बाध्यता सुनाउदैछन् । उहाँको क्षमता र धादिङको आवश्यकता पनि दर्शाउदैछन् । यस ठाउँमा चुनाव प्रचारको एउटा रमाइलो अभ्यास पनि रहेछ । घरदैलो अभियानमा अभियानकर्मीहरूले गाडी र मोटरसाइकल जस्ता सवारीसाधन प्रयोग गरेका छैनन् । ‘जनता र मतदातालाई भेट्न साधन जरूरी पर्दैन’ शर्मा भन्नुहुन्छ, ‘ओल्लो घर पल्लोघर, तल्लोघर माथ्लोघर जानलाई सवारी साधन चाहिंदैन भनेर हामी पैदल नै मतदातालाई भेटिरहेका छौं ।’
थपलियाले भिडियो सन्देश र सामाजिक सञ्जालको माध्यमबाट मतदाताहरूलाई आफू घरघर आइपुग्न नसकेको बाध्यता बताइरहनु भएको छ । यसैगरी आफूलाई मत दिएर विजयी गराउन पनि उहाँले आम मतदातालाई अनुरोध गर्नुभएको छ । यस क्षेत्रमा ५९ हजार १९७ जना मतदाता छन् ।
थपलिया परिवारलाई अध्यक्ष ओलीद्वारा लिखित समवेदना
नेकपा एमालेबाट धादिङ क्षेत्र नम्बर २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार इन्जिनियर गजेन्द्रप्रसाद थपलियाको परिवारलाई नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिखित समवेदना पठाउनु भएको छ ।
नेपाल बुद्धिजीवि परिषदका महासचिवसमेत रहेका इन्जिनियर थपलियाको बुबा शिव प्रसाद थपलियाको ८८ वर्षको उमेरमा गत कात्तिक १६ गते निधन भएको थियो । चुनावी अभियानमा रहेका थपलिया बुबाको मृत्युपछि हिन्दु संस्कारअनुसार क्रियामा हुनुहुन्छ ।
नेकपा एमालेका स्थायी समिति सदस्य एवम् वागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारीको नेतृत्व टोलीले वुधवार धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ परेवाटारस्थित घरमा पुगेर थपलिया परिवारलाई पार्टी अध्यक्ष ओलीको लिखित समवेदना पत्र बुझाएको हो ।








प्रतिक्रिया