झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहिबार झापाको निर्वाचन क्षेत्रमा व्यस्त हुनु भयो । अपह्रान्ह झापाको पुरानो ग्रामिण बजारको रुपमा रहेको शिवगञ्जमा पुग्नु भएका ओलीले त्यहाँ प्रतिनिधी सभा तर्फ एलपी साँवा र भक्ति सिटौलालाई जिताउन आग्रह गर्नु भयो । आफ्नो पुरानो कार्यक्षेत्रमा भएको सभालाई संवोधनका क्रममा उहाँले एमाले नेतृत्वको सरकारले गरेका केहि काम स्मरण गर्नु भयो । अहिले गठवन्धन सरकारले विकास ठप्प पारेको बताउनु भयो र केहि पुराना दिनको सम्झना पनि गर्नु भयो । पुराना दिनको सम्झना गर्ने मेसो संवोधनको अन्तिम तिर खुल्दै गर्दा त्यसै क्षेत्रको सुरुङ्गामा हुने सभालाई संवोधन गर्न पुग्नु पर्ने हतारोले समायो । अनि कुराको विट पारेर विदा हुनु भयो ।
जव सुरुङ्गा पुग्नु भयो, ओलीले संवोधन शुरु गर्नु भयो । संवोधनको शुरुवातमै भन्नु भयो–‘आज म मेरो पुरानो घर–गाउँ आएको छु त्यसैले भाषण होईन म यहाँ कुरा गर्छु ।’ अनौपचारीक ढंगबाट संवोधन शुरु गर्नु भएका पूर्वप्रधानमन्त्री ओलीले अहिलेको पुस्तालाई थाहै नभएका धेरै विषयबाट जानकारी पनि दिनुभयो ।
राजा महेन्द्र आउँदा बनाएको पुल र बाटो
तत्कालिन सुरुङ्गा तथा अहिलेको कन्काई नगरपालिका एमाले अध्यक्ष ओलीको पुरानो बसोबास रहेको क्षेत्र हो । यो भुगोलसँग उहाँका युवावय र संघर्षका इतिहास जोडिएका छन् । तिनै सम्झनाका दिन उहाँले सुनाउँदा युवा पुस्ताका लागि ऐतिहासिक तथ्यहरु पनि सार्वजनिक गर्नु भयो । त्यस क्रममा उहाँले २०२० सालमा तत्कालिन राजा झापा भ्रमणमा आउँदा कसरी बाटो र कन्काईमा पुल बन्यो भन्ने तथ्य सुनाउनु भयो । त्यस क्रममा उहाँले भन्नु भयो–‘यहाँको शिवगञ्ज देखि भद्रपुर जाने सडक नेपालका पुराना मोटर चल्ने बाटो मध्येको हो । यहाँ २०२० सालमा त्यस बेलाका राजा महेन्द्र आउँदा बनाईएको हो । त्यस बेला कन्काईमा एउटा लच्किने पुल पनि बनाईएको थियो । बाटो त खुलाईयो, राजा हिड्ने बाटोमा खोला परे पछि पुल त हाल्नु पर्यो । त्यसैले त्यस बेला त्यहाँ माथि चित्रा हालेको र भित्र अरु चिज राखेर एउटा पुल बनाईएको थियो । त्यहाँ राजाको मोटर चल्दा लचक लचक लच्किन्थ्यो । तर राजा गएसँगै त्यो पुल पनि गयो ।‘
विकासको त्यस्तो अवस्थामा रहेको झापामा एमाले सरकारमा जान थाले देखि मात्रै विकासको क्रमले गति लिएको उहाँले बताउनु भयो । अब दमक देखि सोझै शिवगञ्ज जोड्ने सडक पनि एमालेको सरकार बनाएर पूरा गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
रामनाथ दाहालको जीप, चिरन्जिवी साँल्दाईको ट्रक
२०२० साल तिर झापामा बाटो–सडकनै नभएकाले मोटरहरु पनि थिएनन् । सार्वजनिक सवारी साधननै असाध्यै कम भएको बेला निजी गाडी हुने कुरा भएन । तर त्यस बेला रामनाथ दाहालसँगै एउटा निजी जिप रहेको अध्यक्ष ओलीले सुनाउनु भयो । ‘त्यस बेला बाटोनै कति थियो र त्यस्तो बेला सार्वजनिक गाडी त थिएनन, निजी कसरी हुन’ अध्यक्ष ओलीले झण्डै ६ दशक अघिको वास्तविकता सुनाउँदै भन्नु भयो–‘त्यस बेला झापामा एक जनासँग मात्र निजी गाडी थियो, रामनाथ दाहालसँग एउटा जीप थियो । रसियन जीप । यो कुरा सुन्दा युवा साथीहरुलाई अचम्म लाग्दो हो । तर यो वास्तविकता हो ।’
त्यस बेला सोहि ठाउँका ‘चिरन्जिवी साँल्दाई’ को एउटा ट्रक भएको पनि उहाँले बताउनुभयो । त्यहि ट्रकमा २०२६ साल तिर आफुले ड्राईभिङ् सिकेको पूर्वप्रधानमन्त्री स्मरण गर्नुभयो ।
बिरीङ्को बगरै बगरै स्कुल
अध्यक्ष ओलीले आफ्ना पुराना दिनको सम्झना सुनाउने क्रममा पैदलै पैदल हिँडेर स्कुल गएका दिन पनि सुनाउनु भयो । चप्रामारी देखि घैलाडुव्वा सम्म पैदल धाएर स्कुल जाने बेलाको दिन सुनाउँदा ओलीले युवाहरु तर्फ लक्षित गर्दै भन्नु भयो–‘त्यस बेला न बाटो थियो, न मोटर । मोटरसाईकल छँदै थिएन, साईकल पनि थोरै थिए । यो सुन्दा युवाहरुलाई अचम्म लाग्दो हो । तर के गर्नु, त्यस बेला मोटरसाईकल भए पनि चल्ने अवस्था थिएन, बिरीङ्को बगरै बगर बालुवामा पैदल हिँडेर हामी स्कुल जान्थ्यौं ।’
सुरुङ्गा नजिकैको स्कुल तर्फ ईङ्गिीत गर्दै ओलीले ‘म यो स्कुलमा त पढिन तर फुटबल खेल्न चाँहि आईन्थ्यो’ भन्दा युवाहरुले तालि बजाएर ओलीको पक्षमा हुटिङ् गरेका थिए । यसै गरि यहाँका कन्काई र बिरीङ्मा बाढी आएका बेला पौडी खेलेको सुनाउँदा पनि युवाहरु उत्साही भएका थिए ।
बीचैमा वृद्धाको जोश
ओलीले केहि आफ्ना पुराना दिन र केहि समसामयीक विषयमा संवोधन गरि रहँदा सहभागीहरुले ‘हो मा हो’ मिलाउँदै साथ पनि दिएका थिए । तर मञ्चबाट ओलीले संवोधन गरि रहँदा दर्शकदिर्घामा रहेकी एक वृद्धालै अभिभावदन गर्नु भयो । ओलीले मञ्चबाटै, माईकबाटै संवोधन फर्काउनु भयो । वृद्धा थप जोशिलो देखिनुभयो । के छ खवर, सञ्चै हुनु हुन्छ ? भनेर गरेको प्रश्नको पनि ओलीले जवाफ दिन दिनुभयो–‘सञ्चै छु, आरामै छु ।’ त्यस पछि पनि वृद्धाको संवाद रोकिएन र भन्नु भयो–‘अब पनि भत्ता बढ्छ होला नि ?’ वृद्धाको त्यस प्रश्नको पनि मुसुक्क हाँसेर उत्तर दिँदै ओलीले आफ्नो बाँकि संवोधनलाई अघि बढाउनु भयो ।






प्रतिक्रिया