अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंगापुरका लि क्वान,मलेसियाका महाथिर, नेपालका केपी ओली : एलपी साँवा

सिंगापुरका लि क्वान,मलेसियाका महाथिर, नेपालका केपी ओली : एलपी साँवा


काठमाडौं- नेकपा एमाले झापा ४ का उम्मेद्वार एलपी साँवा लिम्बूले नेपालको विकास र समृद्धिका लागि केपी ओलीको विकल्प नभएको बताउनुभएको छ ।
आज झापाको शिवगञ्जमा आयोजित चुनावीसभामा बोल्दै साँवाले ओली बिना देशले काँचुली फेर्न नसक्ने भएकोले नै एमालेले आगामी पाँच वर्षका लागि पुन केपी ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर चुनावमा होमिएको स्पष्ट पार्नुभयो ।
‘सिंगापुरलाई लिक्वानले मछुवाहरुको देशबाट धनी र विकसित देश बनाए । मलेसियालाई महाथिरले गरिबीबाट मुक्ति दिलाए’ साँवाले भन्नुभयो ‘नेपाललाई पनि अविकसित र पछौटेपनबाट मुक्ति दिनका लागि केपी ओली नै चाहिन्छ ।’
भिजन बिना देश नचल्ने भन्दै साँवाले ओली र नेकपा एमाले बाहेक अरु नेतासँग भिजन नभएको स्पष्ट पार्नुभयो ।
एमाले सरकारमा भएका बेला मुटुरोगी,क्यान्सर र मृगौला रोगीहरुलाई १ लाख रुपैंया उपचार खर्च दिएको स्मरण गराउनुभयो । यस्ता रोगीहरुलाई प्रत्येक महिना ५ हजार रुपैंया औषधी उपचार खर्च उपलब्ध गराउने गरेको साँवाले बताउनुभयो । एमालेको सरकारले जनतालाई आधारभुत स्वास्थ्य सेवा पुर्याउन एकै पटक ३सय ९६ वटा अस्पताल निर्माण सुरु गरेको साँवाले बताउनुभयो । तिनीहरु मध्ये झापा ४ को शिवगञ्ज १५, कनकाईमा १५ र झापा गाउँपालिकाको टाघनडुब्बामा १० शैयाको अस्पताल निर्माण भइरहेको जानकारी दिनुभयो ।
उम्मेद्वार साँवाले यस पटक निर्वाचित भएर गएपछि विगतका अधुरा योजनाहरुलाई पुरा गर्ने र कयौं नयाँ योजनाहरु यस क्षेत्रमा ल्याउने आफ्नो योजना रहेको बताउनुभयो । ‘शिक्षा,स्वास्थ्य,रोजगारी,विकास पूर्वाधार र सामाजिक सुरक्षा मेरो मूख्य कामका क्षेत्रहरु हुन् ’ साँवाले भन्नुभयो ‘तपाईंहरु ढुक्कले मलाई मत हाल्नुहोस । म यस क्षेत्रको विकास र समृद्धिका लागि ढुक्कले खट्छु । ’