धरान – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरूसँग आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्लाएक्लै भिड्ने हैसियत नै नभएको दाबी गर्नुभएको छ ।
एमालेसँग एक्लै लड्ने आँट कांग्रेसँग नरहेको बताउँदै उहाँले एक्लै लड्न चुनौती दिनुभयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीसँग चुनाव लड्न आउ एक्ला एक्लै लडौं ।’
धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सिध्याउन भन्दै विरोधीहरुले अनेक प्रयास गरेपनि असफल भएका बताउनुभयो । विरोधीहरुले एमालेमाथि प्रहार गरेर वामपन्थी आन्दोलनलाई कमजोर पार्ने प्रयास गरेका उहाँको भनाइ छ ।
वामपन्थी आन्दोलनलाई थिति, विधि र नियम बाहिर लैजाने प्रयास समेत भएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘एउटा अंग्रेजीमा हाइना नेपालीमा होडार भन्छ त्यसले मारेर सिकार खाने होइन ज्युँदै खान्छ ज्युँदै टोक्छ, नेकपा एमालेलाई त चारैतिरबार ज्यूँदै टोक्ने प्रयास भयो, खुट्टा भेटे खुट्टै टोक्या छ, हात भेटे हात टोक्या छ, टाउको भेटे टाउकै टोक्या छ ।’
अध्यक्ष ओलीले एमालेलाई सिध्याउँछौं भनेर विरोधीहरुले सार्वजनिक उद्घोष गरेपनि जनताको पार्टीलाई ढगमगाउन नसकेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसैले एमालेलाई भित्तामा टाँस्दिन्छौं भने, कसैले धुलोमा मिलाइदिन्छौं भने, एमाले सिध्यायौं भन्ने दम्भ देखाए तर एमाले जनताको प्यारो पार्टी, जनताबाट उब्जिएको पार्टी हो,जनताको साथकै कारण विरोधीको प्रयास विफल भयो ।’
विदेशीका लागि कम्फर्टेबल सरकार बनाइदिने उद्देश्य बोकेकाहरुले दुई तिहाइ बहुमतको सरकार ढाल्ने र पार्टी एकता तोड्ने काम गरेका अध्यक्ष ओलीले बताउनुभयो ।
एमाले सिध्याउने उनीहरुको षड्यन्त्र नेपाली जनताले नै असफल पारिदिएका अध्यक्ष ओलीले बताउनुभयो।






प्रतिक्रिया