अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेरो ५ वर्षे कार्यकालमा बृद्धभत्ता कटौती भएको छैन : रामेश्वर श्रेष्ठ

मेरो ५ वर्षे कार्यकालमा बृद्धभत्ता कटौती भएको छैन : रामेश्वर श्रेष्ठ


काठमाडौं – सामाजिक सञ्जालमा केही व्यक्तिहरुले महालक्ष्मी नगरपालिकाले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौतीमा आफ्नो नाम जोडेको भन्दै प्रदेश सभा सदस्य उम्मेदवार रामेश्वर श्रेष्ठले खण्डन गर्नुभएको छ ।

प्रदेश सभा सदस्यमा उम्मेदवार भएपछि प्रायोजित रुपमा नजानेर होइन, जानीजानी नै नियोजित प्रचार गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो पाँच वर्षे कार्यकाल सकिएको ६ महिनापछि सामाजिक सुरक्षा भत्ता कटौतीको कुरा उठाइएको छ । सामाजिक सुरक्षा भत्ता २०७४ सालको स्थानीय तहको निर्वाचनमा मैले जारी गरेको घोषणापत्रमा उल्लेख भएको विषय हो । आफ्नो घोषणापत्र कार्यान्वयन गर्न नगर सभाबाट नै पारित गरेर लागू भएको हो ।’

 उहाँले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै भन्नुभएको छ, ‘मेरो पाँच वर्षे कार्यकालमा भत्ता कटौती भएको छैन। अझ मेरै कार्यकालमा बृद्धबद्धाका लागि घरघरमै गएर स्वास्थ्य जाँचको कार्यक्रम सुरु भएको थियो।’

महालक्ष्मी नगरपालिकाका पूर्वमेयर समेत रहनुभएका श्रेष्ठले बृद्धबृद्धाका पक्षमा आफूले गरेको काम पुनःस्मरण गर्नुभएको छ । ‘जीवनको उत्तरार्धमा एक्लोपन र रोगसँग जुधिरहेका हर बृद्धबृद्धामा मेरो आफ्नै आमा-बुवाको अनुहार देख्दछु,’ विज्ञप्तीमा भनिएको छ, ‘प्रदेश सभा सदस्यमा उम्मेदवार भएपछि मैले जारी गरेको घोषणापत्रमा पनि बृद्धबृद्धाका लागि विशेष महत्व दिएर कार्यक्रम घोषणा गरेको छु । नेकपा एमाले नै त्यस्तो पार्टी हो, जसले नेपालमा पहिलोपटक बृद्धबृद्धालाई सामाजिक सुरक्षा भत्ता सुरु गरेर पौढ उमेरका नागरिकप्रति राज्यको दायित्व निर्वाह गरेको थियो ।’

श्रेष्ठले आफूले नगर प्रमुखका रुपमा ५ वर्ष आफ्नो इमान्दारितामाथि एन्च पनि तलमाथि हुन नदिएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘सुशासन र पारदर्शिताका सवालमा नगरपालिका गएर मेरो नेतृत्वमा भएका निर्णयहरुलाई एक–एक केलाएर सार्वजनिक परीक्षण (पब्लिक अडिट) गरिदिनुहुन अनुरोध गर्दछु ।’

नगर प्रमुखको रुपमा पाँच वर्ष काम गरेजस्तै प्रदेश सभा सदस्य निर्वाचित भएपछि इमान्दारिताका साथ नीति निर्माण, विकास निर्माण र समाजसेवामा क्रियाशील रहने श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको छ ।