सुर्खेत-नेकपा एमालेले सुर्खेतको वीरेन्द्रनगरमा बृहत् चुनावी जनसभा गर्ने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको जनसभालाई एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ । चुनावी सभामा हजारौँ जनसमुदायको सहभागिता रहने एमाले सुर्खेतका सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताउनुभयो । उहाँका अनुसार घण्टाघर पश्चिमपट्टीको मैदानमा हुने जनसभाका लागि सम्पूर्ण तयारी पुरा भएको छ । स्थानीय मंगलगढीचोकबाट बिहान ११ बजे ¥याली सुरु गरिने एमाले सुर्खेतले जनाएको छ ।
जनसभामा चर्चित लोक गायक बद्री पंगेनीसहितका कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहनेछ । एमाले स्थायी कमिटी सदस्य एवम् सुर्खेत क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्यका उम्मेदवार यामलाल कँडेललगायतका नेताहरूले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । भोलि नै दैलेखमा हुने एमालेको चुनावी जनसभालाई पनि अध्यक्ष ओलीसहितका नेताहरूले सम्बोधन गर्नुहुने छ । अध्यक्ष ओली निर्वाचनअघि देश दौडाहामा हुनुहुन्छ । स्थानीय चुनावभन्दा ६ प्रतिशत मत बढाउने लक्ष्यसहित एमालेले देशव्यापी चुनावी अभियानलाई तीव्र पारेको छ ।






प्रतिक्रिया