अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले जे बोल्छ त्यो गर्छ, जे भन्छ त्यो गर्छ : अध्यक्ष ओली

एमाले जे बोल्छ त्यो गर्छ, जे भन्छ त्यो गर्छ : अध्यक्ष ओली


डोटी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले भनेको कुरा गरेरै छाड्ने बताउनुभएको छ ।

डोटीमा आज चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले अघि सारेका २० वटा ग्यारेन्टीमा शिक्षासहित सबै क्षेत्र समेटिएको बताउनुभयो ।

कोही पनि नेपालीका छोराछोरी स्कुल बाहिर हुन नहुने बताउँदै उहाँले भन्नुभयो, ‘२ वर्षभित्र सम्पूर्ण बालबालिकालाई स्कुल पुर्‍याउँछौं, बालबालिकाले स्कुल छाड्ने अवस्थाको अन्त्य गर्छौं, २ वर्षभित्र निरक्षरता अन्त्य गर्छौं, एमालेले जे भन्छ त्यो गर्छ ।’

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेकपा एमालेले भनेपछि गर्छ । हुलाकी राजमार्ग बनायो महाकाली करिडोर बनायो । अरु बाटोहरु बनायो मदनभण्डारी राजमार्गको सुरुआत गर्‍यो त्यो लगभग सिद्धिँदैछ ।’

नेपाललाई फोरजीको अवस्थामा पुर्‍याइएको भन्दै उहाँले नेपाललाई डिजीटल नेपालको रुपमा अगाडि बढाउने बताउनुभयो । नयाँ-नयाँ विमानस्थल निर्माणको काम पनि एमालेले गरेको अध्यक्ष ओलीले बताउनुभयो ।

आफूले गृहमन्त्री हुँदा सेना-प्रहरीको श्रेणी तोकेको उहाँले बताउनुभयो । आफू प्रधानमन्त्री भएका बेला सरकारी कर्मचारीको तलव २५ प्रतिशतले वृद्धि गरेको अध्यक्ष ओलीले स्मरण गर्नुभयो । कोभिडले थला पारेका बेला पनि कर्मचारीको तलब बढाइएको उहाँले बताउनुभयो ।

सुकुम्बासी समस्या समाधान पनि एमालेले नै गर्ने अध्यक्ष ओलीले बताउनुभयो । ४१ महिना सरकारको नेतृत्व गर्दा आफू नेतृत्वको एमाले सरकारले हजारौं काम गरेको उहाँले बताउनुभयो ।