दोलखा – सत्ता गठबन्धनका उम्मेदवार र जनप्रतिनिधिहरुले दोलखामा खुलेआम लगातार आचारसंहिताको खिल्ली उडाइरहँदा स्थानीय प्रशासन भने मौन बनेर बसेको छ ।
पछिल्लो समय बागमती प्रदेश सरकारका मन्त्री विशाल खड्का आफ्नै निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर बनेर हिँडिरहँदा प्रशानसनले चुक्क आवाज निकाल्न सकेको छैन ।
देश निर्वाचनमय भैरहँदा अहिले कुनै औपचारिक कार्यक्रम गर्न पाइँदैन तर मन्त्री खड्काले कात्तिक २५ गते जिरी नगरपालिकास्थित शहिद स्मृति माविमा जिरी नगरपालिकास्तरीय अन्तर मावि भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
उहाँको साथमा पूर्व मन्त्री देवी खड्का र गठबन्धनका उम्मेदवार गंगा कार्की र कुन्दन काफ्ले पनि सरिक भएका थिए ।
विद्यालय हातामा विद्यालय समयमा राज्य संयन्त्रकै उपस्थितिमा उम्मेदवारसहितको टोलीले सहभागिता जनाउनु एकातिर आचारसंहिताको ठाडो उलंघन भएको छ भने अर्कातिर कानुनी राज्यको उपहास भएको छ ।
यस विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई प्रमुख प्रतिपक्षी एमालेले औपचारिक जानकारी गराएको थियो । जानकारी हुँदाहुँदै पनि प्रशासन मौन बसेको आरोप एमालेको छ ।
यस्तै निर्वाचन आचारसंहिताकै दौरानमा तामाकोशी गाउँपालिकास्थित वडा नं ३ छौंडेमा पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको उपस्थितिमा सेवाकेन्द्र उद्घाटन गरिएको छ ।
पालिकाका प्रमुख प्रोणप्रताप केसीले कात्तिक २५ गते सेवाकेन्द्रको उद्घाटन गरेका हुन् । तामाकोसी गाउँपालिका वडा न ३ जफे जामुनेबाट प्रदान गरिरहेको सेवा सहज बनाउन सेवाकेन्द्र स्थापना गरिएको भनेता पनि हाल निर्वाचनलाई प्रभावित बनाउन यसो गरिएको स्थानीय बताउँछन् ।
कार्यपालिकामा समेत पत्तो नदिई निर्वाचनका मुखमा सरकारका प्रतिनिधिहरुको यस्तो खालको हर्कतले सास्ती बनाएको तामाकोशी ३ का स्थानीय सन्तोष पोखरेलले जानकारी दिनुभयो ।
यसअघि गठबन्धनका उम्मेदवारहरुले शैलुङ गाउँपालिका, तामाकोशी र वैत्यश्वर गाउँपालिकाहरुमा आचारसंहिता उलंघनका गतिविधिहरु गरिरहेका छन् । स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई बारम्बार जानकारी गराउँदा पनि कुनै एक्सन नलिएको एमाले दोलखाका कार्यबाहक अध्यक्ष राजेन्द्र मानन्धरले बताउनु भयो ।
मानन्धरका अनुसार गाउँपालिकाहरुमा गठबन्धनका उम्मेदवारले ठूला व्यानर राख्ने, गेट बनाउने, फोटोसहितको लकेट बनाउने जस्ता गतिविधि गर्दै आएका छन् । उहाँले अब औपचारिक कार्यक्रम नै गरेर मतदाता प्रभावित पार्न थालेपछि निर्वाचन आयोगको कार्यालय काठमान्डौ गएर उजुरी हाल्ने जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले भने दललाई आचारसंहिता विपरीतका सामग्री हटाउन भनिरहेको र अटेरी गरेमा प्रहरी लगाएर हटाइने बताउँदै आउनुभएको छ ।






प्रतिक्रिया