डोटी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वमन्त्री प्रेमबहादुर आलेले नेपालीको देशकै बेइज्जत गरेको बताउनु भएको छ ।
आज डोटीको दिपायलमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विगतमा आफूले टिकट दिएर जिताएको व्यक्तिले डोटीको मात्र नभएर देशकै बेइज्जत गरेको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘मलाई दु:ख लाग्छ मैले आफैंले सही गरेर उम्मेदवारी दिएको व्यक्ति, पछि त डोटीको मात्र बेइज्जत होइन भाषा सुन्नुस्, सिंगै डोटीको, सभ्यताको, भाषाको, संस्कृतिको त बेइज्जत भयो नै, डोटेली जनताको बेइज्जत भयो नै, नेपाली सिंगै जातीको बेइज्जत अन्तर्राष्ट्रिय तवरमा गरेको छ, के हो मन्त्रीको भाषा ? विश्वभरिबाट उहाँलाई हटाउन भनियो, मन्त्री राजीनामा गर्दैन, उहाँलाई हटाउन लुते नेता सक्दैनन् ।’
अध्यक्ष ओलीले स्वार्थीलाई मत दिन नहुने बताउनुभयो । अहिले खपडा जोडेको पार्टीबाट उठेका त्यस्ता अविश्वसनिय तत्वलाई मत दिन नहुने बताउँदै उहाँले भन्नुभयो, ‘यस्तो मान्छे यसपटक फेरि खुद्रा, २-३ वटा पात गाँसेको, खपडाहरू जोडेको पार्टीबाट उम्मेदवार बनेर यतातिर आएका छन्, म डोटेली जनतालाई आग्रह गर्छु, ‘त्यस्ता विश्वासघाती, देशको माया नगर्ने, पार्टीको माया नगर्ने, आन्दोलनको माया नगर्ने, विकासको मतलब नभएका स्वार्थी तत्वलाई मत दिनुहुँदैन, जमानत जफत गराउनुपर्छ ।’
सूर्य चिन्हमा दिएको मत बेच्नेलाई कुनै हालतमा मत दिन नहुने बताउँदै उहाँले भन्नुभयो, ‘हामीले सूर्य दिएका थियौं, आज के बोकेर आएका छन् छेस्को, सिन्को त्यस्तै बोकेर आएका छन् ।’
अध्यक्ष ओलीले एमाले उम्मेदवारलाई विजयी गराउनु सबैमा आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेसले चितवन मात्र नभएर देशैभर रुखमा भोट हाल्न नपाउने अवस्था रहेको बताउनुभयो ।
एमाले सबैका लागि देश बनाउने पार्टी भएको बताउनुभयो ।






प्रतिक्रिया