अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा-३ मा जनताको समृद्धिको लडाइँ हो : अध्यक्ष लिङ्देन

झापा-३ मा जनताको समृद्धिको लडाइँ हो : अध्यक्ष लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र-३ मा राजतन्त्र र गणतन्त्रबीचको लडाइँ नभएको बताउनुभएको छ।

भद्रपुरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘राजतन्त्र र गणतन्त्र साधन हो, साध्य होइन, राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै बाटो हो, जसको मूल ध्येय जनताको समृद्धिसँग जोडिएको छ ।’

राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै व्यवस्था भएको उल्लेख गर्दै उहाँले जनताको शान्ति, समृद्धिको चाहनालाई स्थापित गर्न विचारअनुसार आआफ्नो मार्ग पहिल्याएर अघि बढेको बताउनुभयो ।

‘कसैलाई एउटा बाटो मन पर्छ, कसैलाई अर्कै’, झापा क्षेत्र-३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका उहाँले भन्नुभयो, “हामी आआफ्नो विचार र आस्था लिएर अघि बढेका छौं, गन्तव्य सबैको एउटै ध्यय हो, बाहिर चर्चा भएजस्तो यहाँ राजतन्त्र र गणतन्त्रबीचको लडाइँ कदापि होइन ।’

झापा-३ मा एमाले र राप्रपाबीच चुनावी तालमेल जनताको समृद्धिका लागि नै भएको उहाँको भनाइ छ । आफ्नो चुनावी जीत सुनिश्चित भएको उहाँको भनाइ छ। मुलुकमा सुशासन र व्यवस्था परिवर्तनको अपेक्षा राख्ने सबै मतदाताले आफूलाई मतदान गर्ने उहाँले बताउनुभयो ।

विसं २०७४ को निर्वाचनमा जितेपछि झापा ३ को विकास र समृद्धिका लागि धेरै काम गरेको उहाँको दाबी छ । ‘हल्दिबारी, कचनकल लगायतका बासिन्दाले कालोपत्र हेर्न बिर्तामोड र भद्रपुरका केही छिटफुट ठाउँ पुग्नुपर्ने स्थिति थियो’, उहाँले भन्नुभयो, ‘अहिले गाउँ–गाउँमा कालोपत्र सडक विस्तार भएको छ तर मैले केही गरिन भन्ने भ्रम छरिएको छ ।’