अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरमा जनताले गठबन्धनलाई टर्च बालेर खोज्दैछन् : महेश बस्नेत

भक्तपुरमा जनताले गठबन्धनलाई टर्च बालेर खोज्दैछन् : महेश बस्नेत


भक्तपुर – नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुने घोषणा गर्नुभएको छ ।

भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार उहाँले थिमी नगरपालिका वडा नम्बर ३ कौशलटारमा क्षेत्र नम्बर २ ‘ख’ प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

विकास र समृद्धिको साथमा जनताको चाहना पूरा गर्नु रहेको उहाँले बताउनुभयो ।

नेता बस्नेतले भन्नुभयो, ‘बाँकी जीवन राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा रही देश विकासमा लाग्छु । मैले कुनै पनि कुराको नेतृत्व गर्दा आर्थिक लोभमा कहिले पनि परेको छैन। अबका दिनमा अझै बढी सक्रियतासाथ नेपाललाई विकसित राष्ट्र बनाउन लाग्छु।’

उहाँले आफूले भ्रष्टाचार हुन नदिने र गर्न पनि नदिने वाचा गर्नुभयो । बस्नेत भन्नुहुन्छ, ‘अब मेरो जीवनको बाँकी समय राष्ट्रको लागि हुनेछ। राष्ट्रको हितको लागि काम गर्दा कुनै प्रकारको लोभ लालच तथा आर्थिक अनियमितता, भ्रष्टाचार म बाट हुने छैन । म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रतिवद्धतालाई शतप्रतिशत पूरा गर्नेछु।’

केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भक्तपुरमा संघीय सरकारबाट मा २६ अर्बभन्दा बढी बजेट ल्याई पूर्वाधारका क्षेत्रमा काम गरेको बस्नेतले बताउनु भयो । उहाँले भन्नुभयो, ‘जहाँ एमाले त्यहाँ विकास’ भन्ने अभियान नै चलाएको स्मरण गर्नुभयो ।

उहाँले भक्तपुरमा गठबन्धनलाई खोज्ने अवस्था आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जनताले टर्च बालेर भक्तपुरमा गठबन्धन दल तथा नेताहरु छन् कि छैनन् भनी खोजिरहेका छन् । एमाले जनताको सल्लाह बमोजिम चल्ने पार्टी भएकाले जनताको सुझावको आधारमा नै प्रतिवद्धता हुनेछन्।’