अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आचारसंहिता मिच्दै गठबन्धन, कारवाहीमा उत्रियो प्रशासन !

आचारसंहिता मिच्दै गठबन्धन, कारवाहीमा उत्रियो प्रशासन !


दोलखा – दोलखामा सत्तामा आवद्ध गठबन्धन दलहरुले निरन्तर आचारसंहिता उल्लंघन गरेका छन् । आचारसंहिता उल्लंघन भएको उजुरी परेपछि निर्वाचन कार्यालय दोलखाले तत्काल हटाउन पत्राचार गरेको छ ।

सत्ता गठबन्धनका उम्मेदवार र जनप्रतिनिधिहरुले दोलखामा खुलेआम लगातार आचारसंहिताको खिल्ली उडाइरहेका थिए । पछिल्लो समय बागमती प्रदेश सरकारका मन्त्री विशाल खड्का देखि गठबन्धनका नेता तथा कार्यकर्ताहरुले निर्वाचन आचारसंहिता विपरित सामाग्रीहरु वितरण गर्ने, उम्मेदवारको तस्विर प्रयोग गरेर स्वागतद्वार बनाउने, उम्मेदवारको तस्विर राखेर व्याच वितरण गर्ने लगायतका कार्यहरु गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।

यसरी उजुरी परेपछि कार्यालयबाट तत्कालै सामाग्री हटाउन पत्राचार गरिएको थियो । सो कार्यमा अटेरी गरेपछि तामाकोशीको भिरकोटमा राखिएको प्रचार प्रसारको सामग्रीहरु भने हिजो प्रहरीले हटाएको छ । 

जिल्लाका विभिन्न पालिकाहरुमा भएका आचारसंहिता विपरितका कार्यहरु तत्काल रोक्न भनिएको छ । कतिपय स्थानमा प्रशासनले समेत त्यस्ता सामाग्री हटाएको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक मुरारी निरौलालले जानकारी दिनुभयो। कात्तिक २३ गते प्रशासन मार्फत आचारसंहिताको विपरित टाँगिएका निर्वाचन सामग्री हटाउन निर्देशन दिएको र प्रहरीले हटाई रहेको उहाँले बताउनुभयो । अहिलेसम्म कति सामाग्री हटाईयो भन्ने जानकारी भने आफूसँग नरहेको निरौलाको भनाई छ ।

जिल्लाका अरु पालिकाहरुमा पनि व्यापक रुपमा आचारसंहिता उल्लंघन भएको नागरिकहरुको गुनासो छ । शैलुङ गाउँपालिका वडाहरुमा समेत प्रचारप्रसार सामग्रीहरु गठवन्धनका दलहरुले राखेका छन्।

वैतेश्वर गाउँपालिकामा गाउँ गाउँमा समेत आचारसंहिता विपरित व्यानर, तुल गठवन्धनमा आवद्ध दलहरुले राखेका छन् । पटक पटक जानकारी गराउदाँ पनि प्रशासनले वास्ता गरेको छैन ।  नेकपा एमाले वैतेश्वर गाउँपालिका कमीटीका अध्यक्ष ऋषिकेस उप्रेतीको भनाइ छ ।