दाङ – नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले जनता सबै एमालेको पछि लाग्छन् भनेर गठबन्धन दलका नेताहरू डरले थुरथुर कामेको बताउनुभएको छ ।
आज बिहान दाङमा आयोजित मतदाता भेटघाट तथा कोण सभा कार्यक्रममा बोल्दै महासचिव पोखरेलले गठबन्धनका नेताहरूलाई राजनीतिको खेतीपाती सुक्ने डर भएको बताउनुभयो ।
नेकपा एमालेलाई सरकारबाट हटाउने काम भएको महासचिव पोखरेलले प्रष्ट पार्नुभयो ।
गठबन्धनका दल एमालेसँग एक्लै भिड्न सक्ने अवस्थामा नभएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो, ‘हामीसँग मिलेर टक्कर गर्दै छन्, सामान्यतः राजनीतिमा एक्लै टक्कर गर्नुपर्ने हो तर मिलेर टक्कर गर्दै छन्, यसअर्थ उनीहरूले जनतासँग हारिसकेका छन् ।’
गठबन्धनको नीति जनताको बीचमा पराजित भइसकेको उहाँले बताउनुभयो । गठबन्धनका नेताहरू आफ्नो नीतिबाट देश चलाउन नसक्ने निष्कर्षमा पुगिसकेका पोखरेलले प्रष्ट पार्नुभयो ।
नीति र नेतृत्वको माध्यमबाट देश चलाउन सक्ने पार्टी भनेको नेकपा एमाले भएको उहाँले बताउनुभयो । एमालेले राष्ट्रिय शक्तिको भूमिका खेल्न सक्ने उहाँले दाबी गर्नुभयो । यस पटकको निर्वाचनमा एमालेले जनता सामु केही प्रतिबद्धता प्रस्तुत गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले ट्वान्टी ग्यारेन्टी भनेका छौँ ।
एमालेले सबै दिदीबहिनीको लागि सुरक्षित महिनावारी विशेष भत्ताको कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो । त्यस्तै हरेक नागरिकको घरमा धारो, पानी र विद्युतको न्यूनतम महसुलमा छुट, किसानलाई सहुलियत लगायतका तलका जनतासँग प्रत्यक्ष जोडिएको कार्यक्रम एमालेले ल्याएको उहाँले प्रष्ट पार्नुभयो । एमाले ल्याएको २० वटा ग्यारेन्टीलाई पूरा गर्न मङ्सिर ४ को निर्वाचनमा एमालेलाई मतदान गर्न उहाँले आह्वान गर्नुभयो ।






प्रतिक्रिया