काठमाडौँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं वागमती प्रदेशका पूर्वमन्त्री डाक्टर अजयक्रान्ति शाक्यले अहिले स्वतन्त्रको नाममा राजनीतिक दल र नेताहरुलाई केन्द्रित गरेर आलोचना गर्ने र त्यसैको फाइदा उठाउँदै नयाँ र स्वतन्त्रलाई विजयी बनाउनुपर्छ भन्ने भ्रम फैलाउने काम भैरहेको भन्दै त्यसको आलोचना गर्नुभएको छ ।
नेता शाक्यले भन्नुभयो, ‘यो झट्ट सुन्दा आकर्षक अभियान जस्तो लाग्न सक्छ । तर, गहिरो गरेर अध्ययन गर्ने हो भने यसले दीर्घकालिन रुपमा धेरै असर गर्ने देखिन्छ ।’ विज्ञप्तिमार्फत उहाँले भन्नुभएको छ, ‘यो अभियान त्यसै फुत्त आएको अभियान होइन । सुन्दा राजनीतिक दलबाट दिक्क भएका मतदाताको आक्रोस जस्तो देखिए पनि यो योजनावद्ध अभियान हो । मुख्य गरेर नेपालको राजनीतिक अस्थिरतामा खेल्न खोज्ने विदेशी र स्वदेशी तत्वसहित केही राजावादीहरुको भित्री योजना अनुरुप यस्ता गतिविधिलाई प्रोस्ताहन गर्ने प्रयास भैरहेको छ ।’
भर्खरै बामे सर्दै गरेको लोकतन्त्रलाई अहिले ती शक्तिले धुलिसात बनाउन चाहेको आरोप पनि लगाउनुभयो। उहाँले भन्नुभयो, ‘प्रष्ट रुपमा भन्ने हो भने व्यवस्था विरोधी शक्तिहरु अहिले सलवलाई रहेका छन् । उनीहरुले करोडौँ खर्च गरेर सामाजिक सञ्जालको दुरुपयोग गर्दै मुलुकमा स्वतन्त्रको नाममा जनताको बिचमा भ्रम सिर्जना गर्ने र अस्थिरता फैलाउने प्रयास गरिरहेका छन । त्यसैले यस्तो भ्रममा नपर्न म सबैलाई अपिल गर्न चाहन्छु ।’
उहाँले स्वतन्त्र सांसदहरुको प्रतिनिधि र प्रदेशसभा जस्तो ठाउँमा प्रतिनिधित्व हुनु भनेको संसदलाई खिचडी बनाउनु बाहेक केही नहुने पनि दाबी गर्नुभयो । ‘स्वततन्त्रका नाममा प्रतिनिधित्व गरेर संसदलाई किनबेचको थलो बनाउने गलत संस्कारलाई थप मलजल गर्ने कुरा हो,’ उहाँले भन्नुभयो, ‘स्वतन्त्र भनेको मुलुकमा अराजकता सिर्जना गर्ने र व्यवस्था विरोधी शक्तिको अभियान मात्रै हो । यदि मुलुकको विकास गर्ने हो भने स्थीर सरकार अहिलेको आवश्यकता हो । त्यसका लागि व्यवस्था विरोधी शक्तिलाई खेल्ने अवसर दिनुहुन्न ।’
उहाँले आगामी मंसिर ४ को निर्वाचनबाट एमालेलाई मुख्य दुई कारणले बहुमतसहित विजयी बनाउनुपर्ने बताउनु भयो । ‘पहिलो कारण ‘सुखी नेपाली समृद्ध नेपाल’ को अभियान पूरा गर्न एमालेलाई एकल बहुमतसहित विजयी गराउन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘दोस्रो भनेको मुलुकको स्वतन्त्रता र सार्वभौमसत्तालाई जोगाई राख्न र राष्ट्रियताको रक्षाका निम्ति एमालेलाई बहुमतसहित विजयी बनाउनुपर्छ ।’
उहाँले एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय चिन्तन भएको नेता भएको भन्दै पाँच वर्षसम्म स्थायी रुपमा मुलुकको नेतृत्व गर्न र आम नेपालीमा राष्ट्रवादी चिन्तनको विकास गर्न एमालेलाई विजयी बनाउनुपर्ने बताउनुभयो ।
उहाँले मुलुकमा साँच्चिकै स्थीरता चाहने हो भने संसदलाई खिचडी बनाउनु हुँदैन भन्दै नेपालको सन्दर्भमा एक शक्तिको नेतृत्व एमाले र एक शक्तिको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले गठबन्धनले बहुमत प्राप्त गर्ने विश्वास गुमाएको भन्दै प्रधानमन्त्री को रु भन्ने सम्म निर्णय गठबन्धनले गर्न नसकेको आरोप लगाउनु भयो । ‘एमालेको घोषणपत्रमा आगामी पाँच वर्षमा मुलुक कस्तो बनाउने भन्ने प्रष्ट योजना छ । प्रधानमन्त्री को रु भन्ने प्रष्ट छ । त्यसकारण पनि प्रष्ट योजना र लक्ष्यसहितको एमालेलाई विजयी गराउनु नै अहिलेको आवश्यकता हो,’ उहाँले भन्नुभयो, ‘विचारमा अन्योल, नेतृत्वमा अन्योल भएको गठबन्धनलाई मत दिएर थप अन्योलता सिर्जना गर्नु भन्दा प्रष्ट योजनासहितको एमालेलाई विजयी बनाउन अपिल गर्दछु ।’






प्रतिक्रिया