अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर-३  मा अमृत खड्का र पम्फा भुसालको प्रतिस्पर्धा,  बाजी कस्ले मार्ला ?

ललितपुर-३  मा अमृत खड्का र पम्फा भुसालको प्रतिस्पर्धा,  बाजी कस्ले मार्ला ?


ललितपुर – ललितपुर निर्वाचन क्षेत्र-३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जामन्त्री पम्फा भुसालसहित २० जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । विभिन्न दलबाट १३ र सातजना स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न व्यस्त हुनुहुन्छ ।

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएकी माओवादी केन्द्रकी उपमहासचिव भुसाल र नेकपा एमालेका उम्मेदवार अमृत खड्का हुनुहुन्छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की पनि चर्चामा हुनुहुन्छ । भुसाल, खड्का र डा. कार्कीबाहेक ललितपुर-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निरञ्जन थापाले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, आमूल परिवर्तन मसिहा पार्टी नेपालका तर्फबाट सपना महर्जन, नेपाल आमा पार्टीबाट कविता राई, लोकतान्त्रिक समाजवादी पार्टीबाट किरण शाही, नेपाल मजदुर किसान पार्टीबाट निरज लवजु, नेसनलिष्ट पिपल्स पार्टीबाट चिरञ्जीवी सापकोटा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विष्णुकुमार लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजेन्द्रप्रसाद ओझा, हाम्रो नेपाल पार्टीबाट राजाराम तण्डुकार र मौलिक जरोकिलो पार्टीबाट धीरेन्द्र सोडारीले उम्मेदवारी दिनुभएको छ । राजनीतिक दलबाहेक सञ्जय महर्जन, जेसनदेव वैद्य, विष्णु महर्जन, चिरन थापा, कृष्णभक्त ब्रह्मचार्य, राधेश्याम खड्का र रघुनाथ केसीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

गोदावरी नगरपालिका–१२ र १४ ललितपुर महानगरपालिका–१, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ गरी २२ वटा वडाहरू रहेको यो क्षेत्रमा ९४ हजार ११६ मतदाता छन् । जसअनुसार ४५ हजार ३०६ पुरुष र ४८ हजार ८१० महिला मतादाता रहेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ ।

दुईचोटी सांसद हुनुभएकी नेता भुसालले गत निर्वाचनमा कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यलाई एक हजार ७०८ मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । भुसाल यस पटक अमात्यकै सहयोग लिएर सांसद बन्ने अभियानमा हुनुहुन्छ । गत निर्वाचनमा भुसालले २४ हजार ३६ मत ल्याउनुभएको थियो भने अमात्यले २२ हजार तीन सय २८ मत ल्याउनुभयो ।  

एमाले उम्मेदवार खड्का र डा कार्की सांसदमा पहिलोपटक प्रतिस्पर्धामा हुनुहुन्छ। खड्का विसं २०५४ मा तत्कालीन सैबुँ गाविसको अध्यक्ष हुनुभएको थियो । डा. कार्की उम्मेदवार हुनुअघिसम्म पाटन अस्पतालमा जनरल सर्जनका रूपमा कार्यरत हुनुहुन्थ्यो । ३२ वर्षीया डा. कार्की सानैदेखि नेतृत्वदायी भूमिकामा आउन रुचाउने स्वभावको हुनुहुन्छ ।

भुसालले आफू दुई पटक सांसद र मन्त्री हुँदा गरेका काम नै आसन्न निर्वाचनका लागि जितको बलियो आधार मान्नुभएको छ । “म २०३६ सालदेखि यहाँका स्थानीयवासीहरूसँग साक्षात्कार छु । यहाँ मेरो योगदान छ, यहाँको स्थानीय विकास, सम्पदा संरक्षणमा, अन्य विकासमा मैले काम गरेको छु । पर्यटनमा आधारित अर्थतन्त्र, पर्यवरणमैत्री पूर्वाधार र समतामूलक समाज निर्माण गरी ललितपुरवासीले गुणस्तरीय जीवन जिउने आधार तय गर्न मलाई मत दिनुहुनेछ भन्ने विश्वास छ”, भुसाल भन्नुहुन्छ ।

यता खड्काले सामाजिक तथा आर्थिक परिवर्तनका लागि काम गर्न जनताले मत दिएर विजयी गराउने दाबी गर्नुभयो । “रोजगारी सृजना, बेरोजगारको अन्त्य, सर्वसुलभ ढङ्गले गुणस्तरीय स्वास्थ्य सेवा दिने र प्रदूषणमुक्त सहर बनाउने मेरो योजना छ ।”

यस क्षेत्रका कूल २२ मध्ये गत स्थानीय चुनावमा सातवटामा कांग्रेसले, तीनवटा माओवादी केन्द्रले, दुईवटामा नेकपा एकीकृत समाजवादी, दुई वटामा स्वतन्त्र र आठ वटामा एमालेका उम्मेदवारले वडाध्यक्ष जित हासिल गर्नुभएको थियो । यो क्षेत्रमा स्थानीय निर्वाचनमा कांग्रेसले १८ हजार पाँच सय ४५, एमालेले १७ हजार सात सय नौ, माओवादीले सात हजार सात सय २७, एकीकृत समाजवादीले पाँच हजार एक सय २९ र राप्रपाले चार हजार तीन सय ३२ मत प्राप्त गरेको छ । यो क्षेत्रमा एमालेले कसैसँग पनि तालमेल गरेको छैन ।