अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा निर्वाचनको तयारी पूरा: आज कर्मचारी, सुरक्षाकर्मी र सामग्रीहरु मतदान केन्द्रमा पठाइदै

झापामा निर्वाचनको तयारी पूरा: आज कर्मचारी, सुरक्षाकर्मी र सामग्रीहरु मतदान केन्द्रमा पठाइदै


बिर्तामोड – झापामा निर्वाचनको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद नेपालले झापामा ९५ प्रतिशत तयारी पूरा भएको जानकारी दिनुभयो ।

उहाँले मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुग्न मात्रै बाँकी रहेको जानकारी दिनुभयो । मंसिर १ गते साँझ ५ बजेसम्म तोकिएको केन्द्रहरुमा पुगिसक्ने गरीको व्यवस्था मिलाएको उहाँको भनाई छ । सबै कर्मचारी, सुरक्षाकर्मीलाई बेलुका ५ बजेसम्म केन्द्रहरुमा पठाउने लक्ष्य राखेका छौं उहाँले भन्नुभयो ।

मंसिर ४ गते हुने निर्वाचनका लागि झापामा कुन–कुन केन्द्रमा कसलाई–कसलाई खटाउने भन्ने सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी नेपालका अनुसार मतदानमा आवश्यक पर्ने सबै आवश्यक सामग्रीहरु निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकेको छ । अनुसुची फारम, मतपत्र, मतपेटिका लगायत सबै सामग्रीहरु प्याकेजिङ गरेर निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको नेपालले जानकारी दिनुभयो ।

जिल्लाका ७६८ मतदान केन्द्रहरुमा अलग–अलग प्याकेजिङ गरेर पठाइएको छ । यसअघिका निर्वाचनमा जिल्लाबाटै केन्द्रहरुमा सामग्री वितरण गरिन्थ्यो भने यो निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयहरुबाट केन्द्रहरुलाई सामग्री प्रदान गरिदैछ।

आज बेलुका ५ बजेसम्ममा कर्मचारी र आवश्यक सामग्री मतदान केन्द्रमा पठाउने जिल्ला निर्वाचन कार्यालय झापाले तयारी गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाले मतदाता शिक्षालाई जिल्लाभर प्रभावकारी ढंगबाट सञ्चालन गरेको जनाएको छ । जिल्लाका १३१ वडामा मतदाता शिक्षा कार्यकर्ता नियुक्त गरेर प्रत्येक मतदाताको घरदैलो, टोलसम्म पुगेर मतदाता शिक्षा प्रदान गरेको नेपालले बताए । यस्तै, १५ स्थानीय तहले लक्षित क्षेत्र तोकेर नमूना मतदान कार्यक्रम सञ्चालन गर्दै मतदाता शिक्षालाई थप प्रभावकारी बनाएको उहाँको भनाई छ ।

यस्तै , नेपालले उम्मेदवारहरुलाई आचारसंहिता पालना गरि स्वच्छ, मर्यादित ढंगबाट निर्वाचन सफल बनाउन आग्रह गरेका छन्। उहाँले मतदातालाई मन परेको उम्मेदवारलाई सही चिन्हमा मतदान गरेर आफ्नो अमुल्य मतलाई मतपत्र मार्फत प्रकट गर्न सुचित गरेका छन् ।

झापामा ६ लाख ६३ हजार ३ सय ११ मतदाताले मतदान गर्न पाउने छन् । सो संख्यामा महिला पुरुष बाहेक ८ जना अन्य रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् । सबैभन्दा धेरै मतदाता क्षेत्र नं ५ मा छन् भने सबै भन्दा कम मतदाता क्षेत्र नं १ मा रहेका छन् ।