झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको बताउनुभएको छ ।
झापा क्षेत्र-१ अन्तर्गत मेची नगरमा आयोजित चुनावी सभालाई बिहीबार दिउँसो सम्बोधन गर्दै ओलीले मङ्सिर ४ को निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्नुपर्ने बताउनुभयो । निर्वाचन देश जोगाउने शक्ति आउने कि स्वार्थ गठबन्धन आउने भन्नेमा केन्द्रित रहेको बताउनुभयो । ‘यो निर्णय गर्नुपर्ने छ’, ओलीले भन्नुभयो ।
ओलीले एमालेसँग लड्ने कसैको हिम्मत नभएर गठबन्धन भएको बताउनुभयो । एमालेलाई ढाल्ने हिम्मत नभएको कारण गठबन्धन भएको उहाँले टिप्पणी गर्नुभयो । जनादेशबाट एमालेलाई ढाल्न नसक्ने भएपछि परमादेश ल्याएको उहाँले बताउनुभयो ।

माओवादीलाई गम लगाएर एमालेमा टाँसेको भए पनि प्रचण्ड टाँसेको पर्चा उक्किए झैँ उक्किएको उहाँले टिप्पणी गर्नुभयो । ‘माओवादीलाई गम लगाएर एमालेले टाँसेको थियो प्रचण्ड टाँसेको पर्चा उक्किए झैँ उक्किए’, ओलीले भन्नुभयो।
एमालेलाई रोक्न र राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रतालाई कमजोर बनाउन अनेक षडयन्त्र भएका ओलीले बताउनुभयो। यसलाई जनताले मङ्सिर ४ मा गठबन्धनलाई पराजित गर्नु पर्ने उहाँले प्रष्ट पार्नुभयो । ‘राष्ट्रियता कि देश घात, विकास कि विनाश, स्थिरता कि अस्थिरता, यसको फैसला यस निर्वाचनले गर्छ’, ओलीले भन्नुभयो ।






प्रतिक्रिया