काठमाडौं – देशभर १२२ निर्वाचन क्षेत्रमा मतगणना चलिरहँदा माओवादी केन्द्रले १२ निर्वाचन क्षेत्रमा मात्रै अग्रता कायम गरेको छ।
माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ ४६ क्षेत्रमा उम्मेदवारी दिएको छ। त्यसमध्ये अहिले माओवादीका उम्मेदवार रहेका ३९ क्षेत्रमा मतगणना चलिरहेको छ।
मत गणनामा माओवादी केन्द्रका उम्मेदवारले १२ क्षेत्रमा मात्रै अग्रता लिएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका माओवादी केन्द्रका २७ जना नेता सुरुवाती मतगणनामा पछाडि परेका छन्।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा-२ मा प्रतिस्पर्धीभन्दा निकै अघि हुनुहुन्छ । तर, सुरुवाती अग्रता कायम गरेका माओवादीका धेरै नेताको मतान्तर भने प्रतिस्पर्धीसँग थोरै छ।
सर्लाही–२ माओवादी केन्द्रका महिन्द्र रायले यादव १ हजार ११३ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका राजेन्द्र महतोले ८४२ मत प्राप्त गर्नुभएको छ । यहाँ ठबन्धनबाटै दुई उम्मेदवार छन्। उहाँहरुबीच नै पहिलो र दोस्रोमा प्रतिस्पर्धा चलिरहेको छ।
सिन्धुली–२ माओवादी केन्द्रका लेखनाथ दाहालले अग्रता कायम गर्नुभएको छ । यहाँ दाहालले ४५१ मत पाउँदा एमालेका मनोजजंग थापाले २२४ पाउनु भएको छ ।
खोटाङमा माओवादी केन्द्रका रामकुमार राईले १ हजार ४३१ मत प्राप्त गर्दा एमालेका विशाल भट्टराईले १ हजार ३६१ मत प्राप्त गर्नुभएको छ ।
रूकुम पूर्वमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगर १ हजार ६२९ मतसहित अग्रस्थानमा हुनुहुन्छ । यहाँ एमालेका कैलाश कुमार मल्लले ४६८ मत प्राप्त गर्नुभएको छ ।
बाग्लुङ २ मा माओवादीका देवेन्द्र पौडेलले ४ हजार ८३९ मतसहित अग्रता बनाउँदा एमालेकी मन्जु शर्मा ३ हजार ९१८ मतका साथ उनलाई पछ्याइरहनु भएको छ ।
महोत्तरी–१ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल १ हजार ७३३ मतसहित अग्रस्थानमा हुनुहुन्छ । एमाले उम्मेदवार लझ्मी महतो कोइरीले १ हजार ६९७ मतसहित पछ्याइरहनु भएको छ ।
भोजपुरमा माओवादीका सुदन किरातीले अग्रता कायम राख्नु भएको छ । किरातीले १ हजार ५५१ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका शेरधन राई १ हजार ८५ मत प्राप्त गर्नुभएको छ ।
मोरङ–४ मा माओवादीका अमनलाल मोदीले अग्रता लिनुभएको छ । उहाँले ५ हजार ७९२ मत पाउँदा एमाले उम्मेदवार विनोदप्रसाद ढकालले ४ हजार १४९ मत पाउनु भएको छ ।
रोल्पामा माओवादी केन्द्रका वर्षमान पुनले फराकिलो अग्रता बनाउनु भएको छ । पुनले ४ हजार ५५७ मत प्राप्त गर्दा एमाले उम्मेदवार पूर्ण बुढामगरले १ हजार ८४६ मत मात्रै प्राप्त गर्नुभएको छ ।
दाङ–२ माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले ५ हजार ३९४ मतसहित अग्रता बनाउँदा एमालेका महासचिव शंकर पोखरेलले ४ हजार ३६२ मतसहित पछ्याइरहनु भएको छ ।
जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिएका छन्। उहाँले २ हजार ६८४ मत पाउँदा एमालेका निरजप्रसाद आचार्य २ हजार १०९ मतसहित पछ्याइरहनु भएको छ ।
रुकुम पश्चिममा माओवादी केन्द्रका जनार्दन शर्माले फराकिलो अग्रता बनाएका छन्। शर्माले ३ सय ५९ मत पाउँदा एमालेका नन्दराम देवकोटाले २ सय ४९ मत मात्रै पाएका छन्।
सुनसरी १ मा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले झिनो अग्रता कायम राखेका छन्। उहाँले १ हजार २२२ मत पाउँदा जसपाका अशोककुमार राईले १ हजार १२२ मत प्राप्त गरेका छन्।






प्रतिक्रिया