काठमाडौं – वागमती प्रदेशसभातर्फ नेकपा एमालेले खाता खोलेको छ । ललितपुर क्षेत्र नम्बर २ (१) मा रामेश्वर श्रेष्ठ विजयी हुनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीलाई १ हजार ४४८ मतले हराउँदै श्रेष्ठ निर्वाचित हुनुभएको हो । श्रेष्ठले ८ हजार २९८ मत पाउँदा केसीले ६ हजार ८५० पाउनु भयो भने पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी रिसा श्रेष्ठले ५ हजार ९७३ पाउनुभयो ।
२०७४ को निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएका श्रेष्ठले यसपटक पनि मेयरमा दाबी गर्नुभएको थियो । उहाँनलाई प्रदेशसभा उम्मेदवार बनाउन एमालेले हरिगोविन्द श्रेष्ठलाई अघि सारेको थियो ।
माधव नेपाल समूहमा रहेका श्रेष्ठ पार्टी फुटलाई साथ नदिएर एमालेमै बस्नु भएको थियो । उहाँ पार्टीमा १० बुँदे सहमति हुनुअघि नै एमालेविरोधी अभियानमा साथ नदिने भन्दै पार्टीको पक्षमा उभिनु भएको थियो ।
काे हुन् श्रेष्ठ
२०१८ साल असार १ गते ललितपुरको महालक्ष्मी-५ टिकाथलीमा जन्मिनु भएका श्रेष्ठ २०३५ सालमा अनेरास्ववियु संगठित भएर राजनीतिमा होमिनु भएको थियो । एमबीए अध्ययन गरेका उहाँ २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी भएका नेता हुन् ।
अनेरास्ववियु काठमाडौं, पाटन, भक्तपुर जिल्लाको सचिव र दुई कार्यकाल अध्यक्ष हुनुभएका उहाँ अनेरास्ववियु सातौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य हुनु भएको थियो । नेकपा (एमाले) ललितपुर जिल्ला कमिटी सचिवालय सदस्य, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य हुँदै उहाँ अहिले नेकपा (एमाले) केन्द्रीय लेखा आयोग सदस्य हुनुहुन्छ ।
२०४६ सालको आन्दोलनमा ९ महिना जेल जीवन बिताएका श्रेष्ठ मेयर हुनुअघि नेपाल औषधि व्यवसायी संघ वागमती अञ्चल कोषाध्यक्ष, सचिव र अध्यक्ष हुँदै केन्द्रीय सदस्य हुनु भएको थियो ।
महेन्द्रग्राम मावि व्यवस्थापन समिति अध्यक्ष, नमूना मच्छिन्द्र मावि व्यवस्थापन समिति सदस्य लगायत दर्जनौं सामाजिक संस्थामा क्रियाशील हुनुहुन्छ ।







प्रतिक्रिया