विराटनगर- नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्दै नेकपा एमालेका अम्बरबहादुर रायमाझी उदयपुर-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ ।
निर्वाचन अधिकृत जीवनकुमार भण्डारीका अनुसार मतगणना सकिएको छ। रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा उहाँका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाएका उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव खतिवडाले १२ हजार ८९३ मत ल्याउनुभयो । त्यसैगरी स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार ३७९ मत ल्याउँदै तेस्रो हुनुभयो ।
चार गाउँपालिका र १ नगरपालिकासहित ५ स्थानीय तह रहेको यस क्षेत्रमा रायमाझीले पहिलो पटकको चुनावी अनुभवमै जित निकालेका हुन् ।
स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा सत्ता गठबन्धन बलियो देखिएको यस क्षेत्रमा नेपाली कांग्रेसका रामकुमार राईले बागी उम्मेदवारी दिनुभएको थियो । जसले गर्दा एमालेको जित सहज भएको सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरु नै बताउनुहुन्छ ।
२०७४ को निर्वाचनमा त्यस क्षेत्रबाट नेकपा माओवादी केन्द्रका सुरेशकुमार राई निर्वाचित हुनुभएको थियो ।






प्रतिक्रिया